Trending :
 

राष्ट्रिय टिम बुद्धिचाल च्याम्पियनसिपको उपाधि दोलखालाई

पौष २८,२०८०

-आस्था न्युज

पुस २८, २०८० काठमाडौं ।
पहिलो प्रयासमै दोलखा चेस होम नेपाल तुलसीलाल स्मृति राष्ट्रिय टिम बुद्धिचाल प्रतियोगिताको छैटौं संस्करण विजेता बनेको छ । भक्तपुर डिस्ट्रिक्ट सीए प्रतियोगिताको उपविजेता र कोशी प्रोभिन्स सीएले बुद्धिचाल प्रतियोगितामा तेस्रो स्थान हात पारे । प्रतियोगितामा मकवानपुर डिस्ट्रिक्ट सीए चौथो स्थान रह्यो । 
 
नेपाल बुद्धिचाल महासंघ र ललितपुर स्पोर्ट्स क्लबको संयुक्त आयोजनामा भएको छैटौं तुलसीलाल स्मृति राष्ट्रिय क्लब टिम च्याम्पियनसिप बुद्धिचाल प्रतियोगिता शनिबार सम्पन्न भएको हो ।ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानको हलमा शनिबार सम्पन्न फाइनलमा भक्तपुर जिल्ला बुद्धिचाल संघलाई हराउँदै दोलखाले उपाधि जितेको हो ।
 
उपाधि जित्ने क्रममा दोलखाले भक्तपुरलाई ३–५ र ०–५ ले पराजित ग¥यो ।  टिमलाई उपाधि जिताउने क्रममा दोलखामा वर्तमान नेपाल च्याम्पियन रुपेस जैसवालले युवा खेलाडी पुरुषोत्तम सिलवाललाई पराजित गर्दा दोलखाका सुश्रुत दाहालले भक्तपुरका विकास चोकामीसँग बराबरी खेले ।
 
त्यस्तै दोलखाका मुहान नर्सिङ श्रेष्ठ र सुजना लोहनीले क्रमशः भक्तपुरका स्वर्णिम दुवाल र अभिक शाहलाई पराजित गरे । यस्तै आज नै भएको अर्को खेलमा मकवानपुर जिल्ला चेस संघलाई २–५ र  १–५ ले पराजित गर्दै कोशी प्रदेश प्रतियोगितामा तेस्रो भएको छ ।
 
प्रतियोगिताको उपाधि जितेसँगै दोलखाले ट्रफीसँग २ लाख नगद पुरस्कार प्राप्त गरेको छ । यस्तै उपविजेता भक्तपुरले १ लाख २० हजार, तेस्रो स्थान प्राप्त गरेको कोशीले ६० हजार र चौथो भएको मकवानपुरले ४० हजार नगद पुरस्कारसँगै मेडल र सम्मानपत्र प्राप्त गरेका छन् । 
 
त्यसैगरी प्रत्येक बोर्डमा प्रथम हुने ४ जना खेलाडीहरुलाई जनही १० हजार पुरस्कार प्रदान गरिएको छ ।  
 
बोर्ड नम्बर एकको गोल्ड मेडलिस्ट दोलखा चेस होमका एफएम रुपेश जैसवाल बने । बोर्ड नम्बर दुईको विजेतामा ८३.३ प्रतिशत अंक ल्याएका कास्की जिल्ला बुद्धिचाल संघका सागर साई चुनिए । तेस्रो बोर्डमा ललितपुर स्पोर्टस क्लबका रिसोन थापाले ९२.९ प्रतिशत अंक ल्याएर प्रथम हुँदा मकवानपुरकी अनुष्णा गौतमले ८५.७ प्रतिशत अंक ल्याएर चौथो बोर्ड फस्र्ट बनिन् । ८३.३ प्रतिशत अंक ल्याएर सुशील चौधरीले पाँचौ टेबलको खेलमा बोर्ड टप गरे । 
 
राष्ट्रिय स्तरका उत्कृष्ट १९ क्लबले प्रतिस्पर्धा गरेको प्रतियोगिताको कुल पुरस्कार राशि ४ लाख ७० हजारको थियो ।
 
कार्यक्रममा वाग्मतीका उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्री रामकृष्ण चित्रकारले बुद्धिचाल खेलको विकासका लागि वाग्मती प्रदेश सरकार सहयोग गर्न तयार रहेको बताएका थिए ।