कराँतेमा बागमती टिम च्याम्पियन
-आस्था न्युज
पुस २९, २०८० काठमाडौं ।
बागमती प्रदेशले चौँथो राष्ट्रिय खुला वादोरियो कराँते प्रतियोगिताको उपाधि जितेको छ । १२ स्पर्धा समावेश प्रतियोगितामा शनिबार बागमती सर्वाधिक १० स्वर्ण जित्दै समग्रमा टिम च्याम्पियन बनेको हो । बागमतीले २ रजत र १ कांस्य पनि जित्यो ।
नेपाल वादोरियो कराँते डो संघद्वारा आयोजित प्रतियोगितामा १ स्वर्ण, ३ रजत र ३ कांस्यसहित कोशी प्रदेश दोश्रो भयो । तेश्रो स्थानको मधेश प्रदेशले १ स्वर्ण र ५ कांस्य हात पा¥यो । शीर्ष तीन स्थान हात पार्नेले क्रमशः १० हजार, ८ हजार र ७ हजार नगद पुरस्कार हात पारे ।
बसुन्धरास्थित यति पार्टी प्यालेसमा भएको प्रतियोगिताको पुरुषमा बागमतीका डेविडकुमार श्रेष्ठ र महिलामा कोशीकी सन्जिता लेप्चा उत्कृष्ट खेलाडी घोषित भए । दुवैले जनही ३ हजार नगद पुरस्कार पाए ।
प्रतियोगिताको अन्तिम दिन ६ स्वर्णका लागि प्रतिस्पर्धामा भएकोमा सबै स्वर्ण बागमती प्रदेशका खेलाडीले जिते । पुरुष ५५ केजीमा डेविडकुमार श्रेष्ठ, ६० केजीमा सुविन्द्र घिसिङ, ६५ केजीमाथि पासाङ ग्याल्जेन र ५० केजीमा समिर घलानले स्वर्ण जिते । महिला ५५ केजीमा दिया पहरी तथा ६० केजीमाथि टीकामाया जिमीले पहिलो स्थान हात पारे ।
विजेतालाई प्रदेश खेलकुद परिषद्, लुम्बिनीका सदस्य–सचिव जयप्रकाश भट्टराई, नेपाल भारोत्तोलन संघका अध्यक्ष रामकृष्ण श्रेष्ठ, आयोजक संघका अध्यक्ष हरिशरण केसीलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । सो अवसरमा नेपाल कराते महासंघको आयोजनामा भएको सातौं दक्षिण एसियाली करातेका स्वर्ण विजेता एलोन श्रेष्ठ र सुस्मिता वाइबा तथा रजत विजेता उर्सला पहरीलाई प्रशंसा पत्रबाट सम्मान गरिएको थियो । प्रतियोगितामा समावेश बाह्रै स्पर्धाका पदक विजेतालाई पनि नगद पुरस्कार प्रदान गरिएको थियो ।