राष्ट्रिय सभामा यौनिक तथा लैङ्गिक अल्पसंख्यकले खोजे भाग
-आस्था न्यूज
माघ १, २०८० काठमाडौं ।
यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायका व्यक्तिहरुले राष्ट्रिय सभामा आफ्नो प्रतिनिधित्व हुनुपर्ने माग राखेका छन् ।
मायाको पहिचान नेपालले राष्ट्रिय सभामा यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायका एक सदस्यलाई मनोनीत गर्न राष्ट्रपतिसँग माग गरेका हुन् ।
पहिलो संविधान सभा सदस्य एवं मायाको पहिचान नेपालका कार्यकारी निर्देशन सुनिलबाबु पन्तले राष्ट्रिय सभामा कमसेकम एकजना यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायको प्रतिनिधित्व गराउन राष्ट्रपतिसँग माग गरे ।
राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रियसभा सदस्यमा एकजना मनोनित गर्न पाउनेछन् । पन्तले राष्ट्रियसभामा समुदायबाट एक जना भएपनि लैजान माग गरेका हुन् । ‘कमसेकम एक जना यो समुदायलाई राष्ट्रपतिले मनोनीत गर्न सक्नुहुन्छ,’पन्तले भने,‘यो समुदायको किन नराख्ने ?’
यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकलाई समावेश गराउन मायाको पहिचान नेपालले राजनीतिक अभियान सञ्चालन गर्ने पन्तले जानकारी दिए । समुदायका सदस्यलाई राजनीतिमा आउन पन्तले आव्हान पनि गरे ।
राजनीतिक दलमा आबद्ध हुन, चुनाव प्रचारप्रसार गर्न र चुनाव जितेपछि कसरी काम गर्ने भनेर सिकाउन मायाको पहिचान नेपाल काम गर्ने उनले बताए ।
संघीय संसद्, न्यायाधीशहरू, कानुन व्यवसायी, राजनीतिक दल, सरकारलाई समुदायकोबारे बुझाउने काम पनि गर्ने उनले बताए । ‘यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायबारे पाठ्यक्रममा राखेपनि शिक्षकहरूलाई पढाउन आउँदैन, शिक्षामा छात्रवृत्ति छैन,’पन्तले भने ।
उनले श्रम ऐन सहित यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायमाथि विभेद हुने २०/२५ वटा कानुन संशोधनका लागि पहल गर्नुपर्ने बताए ।
मायाको पहिचान नेपालले सिंहदरबार पूर्वीगेट अगाडि अनामनगरमा सोमबारदेखि कार्यालय सञ्चालनमा समेत ल्याएको छ । कार्यालयको उद्घाटन गर्दै सिद्धी गणेश टोल विकास समितिका अध्यक्ष आरबी ठकुरीले माया गुरुङ्ग र सुरेन्द्र पाण्डेले विवाह गर्नु अगाडि धेरै बाधा अड्चन भोग्नु परेको सुनाए ।
समर्पण सभ्य समाजका सचिव हनि महर्जन सुनिलबाबु पन्तकै कारण नेपालका यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायलाई विश्वसामु चिनाउन सजिलो भएको बताए ।
मायाको पहिचान नेपालकी अध्यक्ष माया गुरुङ्गले मन मिल्ने जीवन साथीसँग विवाह गर्न पाउनुपर्ने बताइन । यौनिक तथा लैङ्गिक अल्पसंख्यकको आवाज नउठाउँदा सडकमा उभिनुपर्ने अवस्था आएको उनले बताइन ।
मायाको पहिचान नेपालका उपाध्यक्ष मधु केसीले नेपालमा रहेका यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायको हक अधिकारको मुद्दालाई सशक्त रूपमा सफल बनाउन कटिबद्ध भएर अगाडि बढ्ने बताए ।