Trending :
 

संस्थागत स्वमूल्यांकनमा सुध्रियो काठमाडौं महानगरको प्राप्तांक

माघ ०१,२०८०

-आस्था न्यूज

माघ १, २०८० काठमाडौं ।
कार्य सम्पादन मूल्यांकनको आन्तरिक प्रणालीमा काठमाडौं महानगरपालिकाले अघिल्लो वर्षभन्दा सुधार गरेको छ । गत आर्थिक वर्ष २०७९/८० को ‘संस्थागत स्वमूल्यांकन’मा काठमाडौं महानगरपालिकाले ७८.५ अंक प्राप्त गरेको छ । यो बिगत वर्षका तुलनामा सुधार भएको सूचक हो ।
 
नगर कार्यपालिकाको आइतबारको बैठकमा प्रशासन विभागका प्रमुख दीपक अधिकारीले मूल्यांकनका सूचक, सूचकहरुको पूर्णाङ्क र प्राप्त अंक सम्बन्धी विवरण पेस गरेका थिए । उक्त प्राप्तांकलाई कार्यपालिका बैठकले अनुमोदन गरेको छ । 
 
आर्थिक वर्ष २०७७/७८ मा ६०.७५ अंक प्राप्त गरेकोमा यो अवस्था झरेर आर्थिक वर्ष २०७८/७९ मा ५७.२५ मा पुगेको थियो । विगतको अवस्थामा सुधार गर्दै महानगरपालिकाले गत आव २०७९/८० मा ७८.५ अंक प्राप्त गरेको हो । 
 
२०७७ सालमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जारी गरेको ‘स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकन कार्यविधि’ अनुसार समग्र स्थिति, प्रक्रियागत स्थिति र परिमाणात्मक स्थिति गरी ३ तहका सूचकका आधारमा स्वमूल्यांकन हुँदै आएको छ । 
 
यी सूचकहरुमा क्रमशः २१, ३४ र ४५ प्रतिशत अंकभार राखिएको छ । यसलाई १० वटा विषय क्षेत्रमा वर्गीकरण गरिएको छ । यी सूचकमध्ये ९ पूर्णाङ्कको शासकीय प्रबन्धमा महानगरपालिकाले ८ अंक प्राप्त गरेको छ । 
 
यस्तै ८ पूर्णाङ्कको संगठन तथा प्रशासनमा ५.७५, ११ अंकको वार्षिक बजेट तथा योजना व्यवस्थापन ७.५, ११ अंकको वित्तीय एवम आर्थिक व्यवस्थापन, १० अंकको सामाजिक समावेशीकरणमा ८ प्राप्त गरेको छ । 
 
त्यस्तै, १६ अंकको सेवा प्रवाहमा १२.५, ७ अंकको न्यायिक कार्य सम्पादनमा ६ र १३ अंकको भौतिक पूर्वाधारमा ९.७५ अंक पाएको छ । ९ अंकको वातावरण संरक्षण तथा विपद् व्यवस्थापन ५.५, ६ अंकको समन्वय सहकार्यमा ६ अंक प्राप्त गरेको छ । 
 
अघिल्लो वर्ष २०७८/७९ मा ५७.२५ अंक प्राप्त गर्दा ९ अंकको शासकीय प्रबन्धमा ७ अंक, ८ अंकको संगठन र प्रशासनमा ४ अंक, ११ अंकको वार्षिक बजेट तथा योजना तर्जुमा व्यवस्थापनमा ७ अंक प्राप्त गरेको थियो । 
 
यस्तै, ११ अंकको वित्तीय एवं आर्थिक व्यवस्थापनमा ९ अंक, १६ अंकको सेवा प्रवाहमा ९.७५ अंक, ७ अंकको न्यायिक कार्यमा ४ अंक, १३ अंकको भौतिक पूर्वाधारमा ४.५ अंक, १० अंकको सामाजिक समावेशीकरणमा ४.५ अंक, ९ अंकको वातावरण संरक्षण तथा विपद व्यवस्थापनमा ४.५ अंक र ६ अंकको सहकार्य र समन्वयमा ३ अंक प्राप्त गरेको थियो । 
 
संस्थागत सबल पक्ष थाहा पाएर सुदृढ गर्न तथा दुर्बल पक्ष थाहा पाएर सुधार गर्ने उद्देश्यले प्रणाली विकास गरिएको बताइएको छ । 
 
आव २०७९÷८० को मूल्यांकनका लागि उपनिर्देशक गंगाधर गौतमको संयोजकत्वमा लिजा संयोजन समिति गठन गरिएको थियो । 
 
स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकन के हो ? 
मुलुक संघीयतामा प्रवेश गर्नुपूर्व तत्कालीन नगरपालिका र गाउँ विकास समितिको मूल्यांकनका लागि अनुदानमा आधारित ‘स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रम’ सञ्चालन थियो । 
 
स्थानीय तहका कार्य प्रक्रिया र उपलब्धीका बारेमा लेखाजोखा गरी सबल र दुर्बल पक्षको पहिचान गर्न, विकास र सुशासनमा रहेका कमीकमजोरीका बारेमा जानकारी लिन, आवधिक समीक्षाका लागि आधार प्राप्त गर्न यस प्रकारको स्वमूल्यांकनको प्रबन्ध गरिएको हो । स्थानीय तहको तुलना योग्य सूचक तर्जुमा गरेर प्रतिस्पर्धात्मक सुधार हुने यसको मूल उद्देश्य हो ।