Trending :
 

त्रिशूलीमा खसेको जीप निकालियो

माघ ०२,२०८०

-आस्था न्यूज

माघ २, २०८० काठमाडौं ।
मंगलबार विहानै त्रिशूली नदीमा खसेको जीप गोताखोरले नदीबाट निकालेका छन् । प्रहरीका अनुसार विहान पौने पाँच बजे त्रिशूली नदीमा गाडीको लाइट बलेको देखेपछि जीप खसेको खुलेको थियो । त्यसपछि परिचालित गोताखोरको टोलीले नदीबाट जीप निकालेको छ । चितवनका डिएसपी श्रीराम भण्डारीका अनुसार नदीबाट निकालिएको जीप भारतीय नम्बर प्लेटको हो । 
 
नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत इच्छाकामना गाउँपालिका–५ स्थित तीन नम्बर पुल नजिकबाट बी आर ०९ जीसी १४३० नम्बरको सिंगल क्याबिन भएको सेतो रङको बोलेरो प्रहरीले नदीबाट निकालेको हो । तर जीपका चालक वा यात्रु भने भेटिएका छैनन् । ‘जीपमा मान्छे थिए वा थिएनन् वा के भएको हो भन्नेबारे यकिन गर्न सकिएको छैन,’ डिएसपी भण्डारीले नेपाल न्यूज बैंकसँग भने । 
 
जीप त्रिशूली नदीमा खसेको सूचना पाएपछि विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारको गोताखोरको टोली त्यहाँ पुगेको थियो । गोताखोरको टोलीले जीप पानीभित्र भेट्टाएको प्रहरी नायव उपरीक्षक भण्डारीले बताए । त्यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।