नेपाल वायुसेवाका दुई जहाज ग्राउन्डेड भएपछि सयौं यात्रुको अन्तर्राष्ट्रिय यात्रा प्रभावित
-आस्था न्यूज
माघ २, २०८० काठमाडौं ।
नेपाल वायुसेवा निगमको अन्तर्राष्ट्रिय उडानका चार जहाजमध्ये दुई जहाज प्राविधिक समस्स्याका कारण ग्राउन्डेड भएका छन् । यसबाट सयौं यात्रुको यात्रा प्रभावित बनेको छ ।
निगमको दर्ता नम्बर (एन–एएलजेड ए३३) सिरिजको वाइडबडी जहाजको फ्लाइट कन्ट्रोल सेन्सरमा समस्या आएपछि उडान रोक्नु परेको निगमका प्रवक्ता रमेश पौडेलले जानकारी दिए ।
‘हिजो राति दोहा उड्नुपर्ने उक्त जहाजको उडान रोकिएकोले यात्रुलाई आज साँझ ७ः ४५ बजेको उडानबाट दोहा लैजाने गरी तयारी गरिरहेका उनले बताए ।
निगमको एउटा न्यारोबडी जहाज मर्मतका लागि इजरायल पठाइएको छ । एक महिनाभन्दा लामो समय नेपालमै ग्राउन्डेड भएको जहाज बेलैमा मर्मतको व्यवस्था मिलाउन नसक्दा निगमको एकैसाथ अन्तर्राष्ट्रिय उडानमा दुई जहाज कमी हुन पुगेको हो ।
प्रवक्ता पौडेलले रातिबाट ग्राउन्डेड भएको जहाजको मर्मतको काम जारी रहेकोले आजै उडान योग्य बनाउने प्रयास रहेको बताए ।