Trending :
 

कम्प्युटर सिस्टममा समस्या आएपछि ईपीएस भाषा परीक्षा केही दिन ढिलागरी हुने

माघ ०२,२०८०

-आस्था न्यूज

माघ २, २०८० काठमाडौं ।
रोजगार अनुमति प्रणाली (ईपीएस) भाषा परीक्षा केही ढिलाइ हुने भएको छ । ईपीएस मार्फत उत्पादनमूलक क्षेत्रका लागि कोरिया जान आवेदन दिएकाहरूको परीक्षा ढिलागरी हुने भएको हो । 
 
यसअघि जनवरी २० तारिखदेखि परीक्षा हुनेगरी तयार भएको थियो । तर, अनलाइन प्रणालीमा प्राविधिक समस्या आएपछि फेब्रअरी ४ तारिखदेखि सूचना जारी गर्ने गरी काम भइरहेको छ ।
 
वैदेशिक रोजगार विभागका महानिर्देशक डण्डुराज घिमिरेले एचआरडी कोरियाका अधिकारीहरूसँगको छलफलको क्रममा २० जनवरी (माघ ६ गते) देखि परीक्षा गर्ने गरी कार्यतालिका सार्वजनिक गर्ने बताएका थिए । तर, आवेदन फारम भर्ने र आवेदकहरूको परीक्षा सम्बन्धी रेकर्ड राख्ने अनलाइन सिस्टमका कारण परीक्षा केही ढिलाइ हुने महानिर्देशक घिमिरेले बताए ।
 
‘उनीहरूको कम्प्युटर सिस्टममा पहिला ५ डिजिटको मात्रै रहेछ । भर्खरै त्यो ६ डिजिटको बनायो । अहिले १ लाख ६४ हजारको विवरण कोरिया पठाएर काम हुँदा अलिकति टाइम लाग्ला जस्तो देखियो । अब फेब्रअरीको ४ (माघ २१ गते) बाट सूचना निकाल्नुपर्ला भनेर टाइम दिएका छन्’ महानिर्देशक घिमिरेले भने ।
 
यसअघि हजारको संख्यामा आवेदन पर्दै आएको थियो । तर, यो पटक भनेको लाखको संख्यामा आवेदन परेको हो । धेरै आवेदन परेपछि अनलाइन सिस्टम नै अपग्रेड गर्नुपरेको थियो । जसले गर्दा परीक्षामा यसअघिको मितिभन्दा ढिलाइ हुने भएको महानिर्देशक घिमिरेले बताए ।