Trending :
 

राष्ट्र बैंकले ३० अर्ब रुपैयाँ तरलता प्रसोचन गर्दै, दिउँसो २ बजेसम्म आवेदन दिन सक्ने

माघ ०३,२०८०

-आस्था न्यूज

माघ ३, २०८० काठमाडौं ।
 नेपाल राष्ट्र बैंकले ३० अर्ब रुपैयाँ तरलता प्रसोचन गर्ने भएको छ । बजारमा अधिक तरलता थुप्रिएसँगै केन्द्रीय बैंकले निक्षेप संकलन उपकरणमार्फत उक्त लगानी योग्य पुँजी (तरलता) प्रसोचन गर्ने भएको हो । 
 
पछिल्लो समय बैंक तथा वित्तीय संस्थामा निक्षेप बढ्ने तर सोही अनुसार कर्जा माग नहुँदा तरलता थुप्रिरहेको छ । केन्द्रीय बैंकको तथ्यांक अनुसार पुस २३ गतेसम्ममा बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप ६० खर्ब ८५ अर्ब रुपैयाँ पुगेको छ । तर, यता कर्जा लगानी भने जम्मा ५० खर्ब ४२ अर्ब हाराहारी मात्र हुन सकेको छ । 
 
बैंक तथा वित्तीय संस्थामा तरलता थुप्रिएसँगै केन्द्रीय बैंकले लगातार निक्षेप संकलन उपकरणमार्फत तरलता प्रसोचन गरिरहेको छ । यसैको निरन्तरता मंगलबार केन्द्रीय बैंकले १४ दिनका लागि ३० अर्ब तरलता प्रसोचन गर्न लागेको हो । 
 
एक सूचना जारी गर्दै केन्द्रीय बैंकले निक्षेपका लागि दरखास्त आह्वान गरेको छ । अनलाइन विडिङ सिस्टममार्फत मंगलबार अर्थात् पुस २४ गते खरिद हुने निक्षेपपत्रका लागि दिउँसो २ बजेसम्म आवेदन दिन सक्नेछन् ।