सरकारले बजेट सिद्धान्त र प्राथमिकता फागुनभित्रै संसद्मा पेश गर्ने
-आस्था न्यूज
माघ ३, २०८० काठमाडौं ।
सरकारले चालू आर्थिक वर्षदेखि बजेटको सिद्धान्त तथा प्राथमिकता फागुनभित्रै संसद्मा पेश गर्ने भएको छ । त्यस्तै, सिद्धान्त र प्राथमिकतामाथि छलफल गरी संसदले चैत १५ गतेभित्र सरकारलाई सुझाव पेश गर्नुपर्ने भएको छ ।
बुधबार मन्त्रिपरिषद बैठकले बजेटको कार्यतालिकामा परिमार्जन गर्ने गरी आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ लाई अध्यादेशमार्फत संशोधन गर्न राष्ट्रिपतिसमक्ष पठाउने निर्णय गरेको छ । अध्यादेशमार्फत उक्त ऐनमा रहेको बजेटपूर्व (प्रि बजेट) को प्रक्रियाहरुको कार्यतालिकाहरु फेर्न लागिएको हो ।
आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्वसम्बन्धी ऐन २०७६ मा विनियोजन विधेयक प्रस्तुत हुनुभन्दा १५ दिन अगाडि अर्थमन्त्रीले विनियोजन विधेयकमा समावेश हुने सरकारका बजेट तथा कार्यक्रमका सिद्धान्त र आयोजना वा कार्यक्रमको प्राथमिकता विवरण संघीय संसदमा प्रस्तुत गर्ने उल्लेख छ । यसलाई अब ‘फागुन मसान्त’ भनी संशोधन गरिएको अर्थ मन्त्रालयका प्रवक्ता धनीराम शर्माले जानकारी दिए ।
चैत १५ भित्र संसदले सो विषयमा छलफल सक्ने गरी अध्यादेशमार्फत ऐन संशोधन गर्न लागिएको छ ।