सवारी दुर्घटनाहरूमा ४ जनाको मृत्यु
-आस्था न्यूज
माघ ४, २०८० काठमाडौं ।
कोशी प्रदेशका दुई जिल्लामा भएका सवारी दुर्घटनामा चारजनाको मृत्यु भएको छ ।
कोशी प्रदेश प्रहरी कार्यालयका अनुसार मोरङ र तेह्रथुम जिल्लाका तीन छुट्टाछुट्टै स्थानमा बुधवार भएको सवारी दुर्घटनामा परी चारजनाको मृत्यु भएको हो ।
मोरङको पथरी शनिश्चरे नगरपालिका–१ मा को–१ ख ७८३५ नम्बरको बसले प्रदेश १–०१–००२ ह ११४८ नम्बरको सिटी सफारीलाई ठक्कर दिंदा घाइते भएकी सफारीमा सवार ८० वर्षीया हस्तमाया गुरुङको मृत्यु भएको हो ।
मोरङकै सुन्दर हरँैचा नगरपालिका–८ मा प्रदेश १–०१–००१ च ९६३२ नम्बरको स्कारपियो र प्रदेश १–०२–०४६ प २५२ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएर भएको दुर्घटनामा एकजनाको मृत्यु भएको छ ।
उक्त दुर्घटनामा मोटरसाइकल चालक बेलवारी नगरपालिका–२ का २२ वर्षीय रुपक घिमिरेको मृत्यु भएको प्रहरीले जनाएको छ ।
यसैगरी, तेह्रथुमको लालीगुराँस नगरपालिका–७ मा को १ ख ५८२९ नम्बरको टिपर दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । काँडेबाट लसुनेतर्फ जाँदै गरेको रोड कन्ट्रक्सन काँडेको टिपर अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ ।
उक्त दुर्घटनामा परी कन्ट्रक्सनमा कार्यरत झापाको मेचीनगर नगरपालिका–१५ का २३ वर्षीय सुगम चौधरी र सिन्धुपाल्चोकका २४ वर्षीय साजु श्रेष्ठको मृत्यु भएको छ ।