प्रधानमन्त्री कपमा सुदूरपश्चिमको लगातार तेस्रो जित
-आस्था न्यूज
माघ ४, २०८० काठमाडौं ।
प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशले लगातार तेस्रो जित निकालको छ । सिद्धार्थ रंगशाला भैरहवामा विहीबार भएको खेलमा सुदूरपश्चिम प्रदेशले गण्डकी प्रदेशलाई १०८ रनको फराकिलो अन्तरले पराजित गरेको हो । गण्डकीको भने यो लगातार तेस्रो हार हो ।
सुदूरपश्चिम प्रदेशले पहिला व्याटिङ गर्दै निर्धारित ओभरमा सबै विकेट गुमाएर २०१ रन बनाएको थियो । जवाफमा गण्डकी प्रदेश ३०.२ ओभरमा सवै विकेट गुमाएर ९३ रनमा समेटिन पुग्यो । टस हारेर पहिला ब्याटिङ गरेको सुदूरपश्चिमको सुरुवात भने राम्रो रहेन ।
सुदूरश्चिमले लगातार विकेट गुमाएका बेला सातौं नम्बरमा आएका किरण ढगुन्ना र नारायण जोशीले पारि सम्हालेका थिए । ठगुन्नाले ६० रनको अर्धशतकीय पारि खेल्दा जोशीले ४६ रनको महत्वपूर्ण पारि खेले । यस्तै शेर मल्लले १९ रन बनाउँदा कप्तान राजु रिजालले १६ तथा टेक रावतले १५ रन बनाए । नरेन साउदले १३ रन जाडेपछि सुदूरपश्चिमको स्कोर २०० प्लस कटेको थियो ।
गण्डकीका विपीन खत्री र अंकित न्यौपानेले तीन तीन विकेट लिँदा कमल परियार र अमृत गुरुङले दुई दुई विकेट लिए ।
२०२ रनको लक्ष्यसहित मैदानमा उत्रिएको गण्डकी प्रदेशको सुरुआत पनि राम्रो रहेन । गण्डकीका लागि अश्विन रानाले सर्वाीधक २५ रन बनाउँदा कमल परियारले २२ रन जोडे । अरुले दोहोरो अंकमा रन बनाउन असफल हुँदा ४ खेलाडीले खाता पनि खेल्न सकेनन् ।
गण्डकीलाई रोक्ने क्रममा शेर मल्लले सर्वाधिक ५ विकेट लिए । उनले ८.२ ओभरमा १ ओभर मेडन राख्दै २३ रन खर्चिएका थिए । यसैगरी गजेन्द्र बोहोराले २ विकेट लिँदा भोजराज भाट, नरेन साउद र मिलन बोहोराले एक एक विकेट लिए ।
जितसँगै ३ खेलबाट ६ अंक बनाएको सुदूरपश्चिम तालिकाको शीर्ष स्थानमा पनि उक्लिएको छ ।