झापामा एकजना बालिकामा दादुराको संक्रमण पुष्टि, घरधुरी सर्वेक्षण थालियो

माघ ०४,२०८०

-आस्था न्यूज

माघ ४, २०८० काठमाडौं ।
झापाको बिर्तामोडमा एकजना बालिकामा दादुराको संक्रमण देखिएको छ । परेको छ । बिर्तामोड नगरपालिका–३ की ५ वर्षीया बालिकामा दादुरा संक्रमण पाइएको हो ।
 
लक्षण देखिएपछि उनलाई उपचारका लागि बिर्तामोड नगर अस्पतालमा राखिएको छ । उनको रगत परीक्षण गर्दा दादुरा संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ ।
 
बालिकालाई औषधि दिएर आइसोलेसनमा राखिएको छ । अस्पतालका स्वास्थ्यकर्मीका अनुसार ती बालिकालाई दादुराको दुईवटै खोप लगाइएको थियो । 
 
यसैबीच, झापा गाउँपालिकाको एकै गाउँका ६ जनामा दादुरा संक्रमण देखिएपछि घरधुरी सर्वेक्षण गर्न थालिएको छ । यसबारे चेतनामूलक कार्यक्रम पनि गर्न थालिएको छ ।
 
झापा गाउँपालिका–७ को सन्थाल बस्तीमा दादुरा संक्रमण देखिएको हो । ७ वर्षदेखि ३७ वर्षसम्मका उमेर समूहका संक्रमितहरु चारजना महिला र दुईजना पुरुष रहेको जनाइएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।
 
दादुरा संक्रमण पाइन थालेपछि जिल्ला स्वास्थ्य कार्यालयले दादुरा खोपको अभियान सञ्चालन गर्ने तयारी गरेको छ ।
 
यसका साथै कसैमा दादुरा संक्रमणको लक्षण देखिएमा तत्काल स्वास्थ्य संस्थामा सम्पर्क गर्न पनि कार्यालयले आग्रह गरेको छ ।