सिनेट बैठक राखेर बीपी प्रतिष्ठानको समस्या समाधान गर्ने मन्त्री बस्नेतको आश्वासन

माघ ०४,२०८०

-आस्था न्यूज

माघ ४, २०८० काठमाडौं ।
सुनसरीको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको समस्याका विषयमा सिनेटको बैठक राखेर छलफल गरिने भएको छ । बैठकबाटै समस्या समाधान गर्ने स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले बताएका छन् ।
 
प्रतिष्ठानमा जारी आन्दोलनका कारण स्वास्थ्य सेवा प्रभावित भएको र अवस्था अस्तव्यस्त बन्न थालेपछि धरानबाट प्रतिनिधिमण्डल समस्या समाधानको माग गर्दै काठमाडौं पुगेको थियो ।
 
त्यस क्रममा स्वास्थ्यमन्त्री बस्नेतसँग भेट गरिएको प्रतिनिधिमण्डलका सदस्य एवं नेपाली कांग्रेसका क्षेत्रीय सभापति सुजेन्द्र तामाङले बताए ।
 
स्वास्थ्यमन्त्री र अन्य सरोकारवाला निकायको ध्यानाकर्षण गराउन सुनसरीबाट पाँच राजनीतिक दलका प्रतिनिधिहरु सम्मिलित टोली संघीय राजधानी पुगेको थियो ।
 
भेटका क्रममा प्रतिष्ठानमा जारी आन्दोलन र समस्याका विषयमा छलफल भएको थियो । लामो समयदेखि पदोन्नति प्रक्रिया रोकिएको भन्दै प्रतिष्ठानका कर्मचारी र डाक्टरहरु आन्दोलित बनेका छन् ।
 
यसअघि पनि आन्दोलन भएको थियो । त्यसबेला प्रतिष्ठान प्रशासनले समस्या समाधान गर्ने सहमति गरे पनि प्रक्रिया सुरु नगरेपछि फेरि आन्दोलन भएको हो ।
 
टोलीका सदस्य तामाङका अनुसार शिक्षक र कर्मचारीका बढुवाका विषयमा तत्काल कार्यकारिणी समितिको बैठक बसी सञ्चालक परिषदमा पेस गर्ने प्रस्ताव तयार गर्ने र सञ्चालक परिषद्को विशेष बैठक बोलाउने सम्बन्धमा मन्त्री बस्नेत सकारात्मक छन् ।
 
स्वास्थ्यमन्त्री बस्नेतले विपी प्रतिष्ठानको विषयमा आफू अत्यन्त गम्भीर भएको भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा, मुख्य सचिव वैकुण्ठ अर्यालसँग संयुक्त बैठक बसेको बताउँदै मुख्य सचिवलाई माग संशोधन गर्न आवश्यक गृहकार्य गर्न जिम्मेवारी दिइएको समेत बताएका थिए ।
 
सुनसरीबाट गएको टोलीले देउवासँग पनि बेग्लै भेटवार्ता गरेको थियो । त्यस क्रममा प्रतिष्ठानको समस्या समाधानका लागि पहल गरिदिन आग्रह गरिएको थियो ।
 
सुनसरीको टोलीमा कांग्रेस केन्द्रीय सदस्य मीन विश्वकर्मा, प्रदेश सांसद विजय राई, नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य जीवन राई, पूर्वमेयर तिलक राई, कांग्रेस नगर सभापति श्याम पोखरेल, नेकपा एमाले नगर अध्यक्ष हर्कजङग एभेङ, नेकपा माओवादी केन्द्रका नगर अध्यक्ष मनोज भट्टराईलगायत सहभागी थिए ।