छात्रावासले रामेछापको दुर्गमका विद्यार्थीलाई राहत
-आस्था न्यूज
माघ ४, २०८० काठमाडौं ।
रामेछापको दुर्गमा गाउँका विद्यालयहरुमा छात्रावासको व्यवस्था भएपछि विद्यार्थीहरुलाई राहत भएको छ ।
जिल्लाको दुर्गम हिमाली क्षेत्र उमाकुण्ड गाउँपालिका-१ गुम्देलको महालंगुर माविले विद्यालयमा पढ्ने विद्यार्थीको लागि छात्रावास सञ्चालनमा ल्याएको छ । विद्यालयले यही शैक्षिकसत्रबाट टाढा विद्यार्थीहरुका लागि छात्रावास सञ्चालनमा ल्याएको हो ।
त्यस्तै, उमाकुण्ड गाउँपालिकाको वडा नं २ मा रहेको सिद्धेश्वर मावि बाम्तीमा पनि विद्यालयमा नै छात्रावासको व्यवस्था गरिएको छ । घण्टौँ हिँडेर विद्यालय आउनुपर्ने बाध्यता रहेका विद्यार्थीको समस्याको अन्त्य गर्न विद्यालयमा छात्रावास सञ्चालनमा ल्याएको जनाएको छ ।
बाम्तिमा ‘हिमाली आवासीय आवासीय छात्रावास कार्यक्रम’ अन्तर्गत प्राप्त बजेटबाट छात्रावासको लागि आवश्यक पूर्वाधार निर्माण गरिएको हो ।
गुम्देलमा भने गाउँपालिकाको सहयोगमा आवश्यक पूर्वाधार निर्माणको काम भएको हो ।
पहिलो चरणमा सबैभन्दा दुर्गमबाट विद्यार्थी आउने विद्यालयमा छात्रावास निर्माण गरिएको उमाकुण्ड गाउँपालिका शिक्षा शाखाका ङावा शेर्पाले जानकारी दिए ।
महालंगुर मावि गुम्देलको छात्रावासमा अहिले १९ जना छात्रा–छात्र बस्दै आएका छन् । सो वडाको लाहाछेवर लगायतका माथिल्लो भेगका विद्यार्थी छात्रावासमा बसेर अध्ययन गरिरहेका शेर्पाले बताए ।
‘चौँरी गोठमा बस्ने अभिभावकका बालबालिका तथा विद्यालयबाट टाढा रहेका लाहाछेवर लगायतका क्षेत्रका बालबालिका छात्रावासमा नै बसेर पढिरहेका छन्’, शेर्पाले भने ।
त्यस्तै सिद्धेश्वर माविको छात्रावासमा पनि २० जना विद्यार्थी बसेर अध्ययन गरिरहेका छन् । सो विद्यालयको छात्रावासमा पनि टाढाका विद्यार्थी बस्दै आएका छन् ।
गाउँपालिकाले छात्रावासको सरसफाइ तथा क्याण्टिन सञ्चालनको लागि एक–एक जना महिला र पुरुष कर्मचारी व्यवस्थापन गरेको छ ।
न्यूनतम शुल्क लिएर विद्यार्थीलाई क्याण्टिनमा खाना, खाजाको व्यवस्था गरिएको छ । अति विपन्न विद्यार्थीलाई विद्यालय व्यवस्थापन समितिले निःशुल्क बस्ने व्यवस्था मिलाएको छ ।
गाउँपालिकाले गाउँपालिकाका ६ वटा मध्ये कम्तीमा चारवटा वडाका एक–एकवटा विद्यालयमा छात्रावास सञ्चालन गर्ने योजना बनाएको छ ।
वडा नं ४ को चण्डेश्वरी मावि प्रीति र वडा नं ६ को कैलेश्वर माविमा पनि छात्रावास सञ्चालन गर्ने योजना गाउँपालिकाको छ ।
यसरी विद्यालयमा छात्रावास सञ्चालन गर्दा टाढाका विद्यार्थीले विद्यालयमा नै बसेर पढ्न पाउने भएकोले बसाई सहज हुने र पढाइको गुणस्तर सुधारमा पनि सहयोग पुग्ने विश्वास गाउँपालिकाको छ ।