धर्म महर्जन टाटा मुम्बई म्याराथनमा सहभागी हुने
-आस्था न्यूज
माघ ४, २०८० काठमाडौं ।
भेट्रान नेपाली धावक धर्म महर्जन भारतको मुम्बइमा हुने टाटा मुम्बई म्याराथनमा सहभागी हुने भएका छन् ।
आगामी आइतबार हुने ४२.१९५ किलोमिटर म्याराथनमा सहभागी हुन उनी शुक्रबार त्यसतर्फ प्रस्थान गर्दैछन् । यसका लागि उनलाई बिहीबार बिदाइ गरिएको छ ।
कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले उनलाई सफलताका लागि शुभकामना दिए । उनले ५० वर्षमाथिको उमेर समूहमा प्रतिस्पर्धा गर्ने भएका छन् ।
त्रिशक्ति सिमेन्टका बजार प्रबन्धक किशन चरणले महर्जनलाई म्याराथनमा सहभागिताका लागि तत्काल आंशिक प्रायोजन गरेको बताउँदै राम्रो नतिजा हासिल गरे थप सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
धावक महर्जनले विश्वका प्रसिद्ध बोस्टन, बर्लिन, लन्डन र टोकियो म्याराथनमा सहभागिता जनाइसकेका छन् । यससँगै उनले विभिन्न दूरीको अन्तर्राष्ट्रिय दौडमा पनि सहभागिता जनाएका छन् । उनी जापानको किताकामीमा सन् २०१४ मा भएको १८ औं एसियाली मास्टर्स एथलेटिक्सको १० हजार मिटर दौडका काँस्य विजेता हुन् ।