Trending :
 

विश्वविद्यालयको स्तर उकास्न अनुसन्धान महत्वपूर्णः उपकुलपति यादवराज कोइराल

माघ ०४,२०८०

-आस्था न्यूज

माघ ४, २०८० काठमाडौं ।
पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्राडा यादवराज कोइरालाले विश्वविद्यालयको स्तर उकास्न अध्ययन, अनुसन्धान र प्रकाशनले ठूलो भूमिका खेल्ने बताएका छन् ।
 
पूर्वाञ्चल विश्वविद्यालय कला, कानून तथा शिक्षा संकायको डीन कार्यालयले बिहीबार आयोजना गरेको जर्नल विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
 
उपकुलपति कोइरालाले अध्ययन, अनुसन्धान र प्रकाशनमा विश्वविद्यालय सहयोग गर्न तयार रहेको जानकारी दिए । विश्वविद्यालयको स्तर उकास्न धेरै काम गर्न सकिने भन्दै उनले स्नातकोत्तर तह अध्यापन गर्ने सबै क्याम्पसलाई कम्तिमा एउटा जर्नल प्रकाशन गर्न सुझाव दिए । 
 
कार्यक्रमलाई सम्बोधन गर्दै रजिष्ट्रार नीलमणि पोखरेलले विश्वविद्यालयलाई चिनाउन जर्नल प्रकाशन गर्नु आवश्यक रहेको बताए । अन्य डीन कार्यालयहरूलाई पनि कम्तीमा एक–एकवटा जर्नल प्रकाशन गर्न उनले सुझाव दिए । विश्वविद्यालयले अध्यापनलाई जति महत्व दिन्छ त्यति नै अनुसन्धान र प्रकाशनलाई पनि दिनुपर्ने रजिष्ट्रार पोखरेलको भनाइ छ । 
 
अनुसन्धान केन्द्रका प्रमुख प्राडा मिनराज ढकालले जर्नल प्रकाशनलाई निरन्तरता दिनुपर्नेमा जोड दिए । जर्नलका कार्यकारी सम्पादक डा. अपारकुमार लम्सालले मानिसलाई रचनात्मक र सिर्जनशील बनाउन अनुसन्धान र प्रकाशनले महत्वपूर्ण भूमिका खेल्ने बताए । 
 
विश्वविद्यालयका जनशक्तिलाई रचनात्मक बनाउन विश्वविद्यालयले अनुसन्धानका पर्याप्त अवसरहरू दिनुपर्ने भन्दै डा. लम्सालले जर्नल प्रकाशनलाई पनि उत्तिकै महत्व दिनुपर्ने उल्लेख गरे । 
 
पूर्वाञ्चल विश्वविद्यालय कला, कानून तथा शिक्षा संकायले यो वर्षदेखि ‘पीयु जर्नल अफ सोसल साइन्स’ प्रकाशन आरम्भ गरेको छ । कला, कानून तथा शिक्षा संकायका डीन प्राडा अनिल पोखरेलले जर्नल प्रकाशनलाई निरन्तरता दिने जानकारी दिए ।