सञ्जीवनी ध्यान विधिको प्रयोग र यसको उपयोगीता
-यज्ञप्रसाद भट्टराई
माघ ७, २०८० काठमाडौं ।
यस वर्ष अर्थात संवत् २०८० साल माघ १ गते नवौ योग दिवस मनाईयो। नेपाल सरकारको विसं २०७२ साउन २८ गतेको बैठकले माघ १ गते राष्ट्रिय योग दिवस मनाउने औपचारिक निर्णय गरेको थियो। सो भन्दा अघि विसं २०३६ साल देखि शूर्य उत्तरायण शुरु हुने दिन पारेर योगको क्षेत्रमा काम गरेका संस्थाको सहभागितामा नेपालमा योग दिवस मनाउन थालिएको थियो। योगको अर्थ जोड्नु भन्ने हुन्छ। योग शरीर, मन र चेतनाको सर्वाङ्गीण विकास गर्ने कला संस्कृति र विज्ञान हो। पतञ्जलीको योग दर्शन अनुसार योग त्यो प्रयत्न, साधना वा अभ्यास हो, जसको माध्यमले चित्त र इन्द्रीयलाई वशमा गरिन्छ। यसर्थ चित्तमा आउने विकार रोक्नु नै योग हो।
शरीर, इन्द्रीय, मन, बुद्धि र अहंकारमाथि विजय प्राप्त गरेपछि आत्माको शुद्ध स्वरुप पाउन सकिन्छ र त्यही शुद्ध स्वरुप प्राप्त गर्ने माध्यम नै योग हो। आदि योगीका रुपमा भगवान शिवलाई मानिन्छ। वैदिक कालमा हिमालयको काखमा ऋषिमुनिले अध्ययन अनुसन्धान गरी प्रतिपादन गरेको वेद, उपनिषद्, स्मृति र पुराणमा योगको उल्लेख भएको पाईन्छ। योग प्राचिन ऋषिमुनिहरूको अनवरत तपस्या र साधनाबाट विकसित भएको हो।नेपालमा प्राचीनकालमा योग, ध्यान र आयुर्वेदका माध्यमबाट मानसिक शान्ति एवम् स्थिरता र आरोग्यताको प्राप्ति हुन्थ्यो। योगको विकासक्रममा खासगरी नेपालका तीन सभ्यताहरु शिव सभ्यता, जनक सभ्यता र वुद्ध सभ्यताको महत्वपूर्ण भूमिका रहेको
पाईन्छ।
नेपालमा आजभोली योगले चर्चा पाउन थालेको छ।बिभिन्न क्रियाकलाप हेर्दा कतिपयको वुझाईमा योग भनेको शारीरिक अभ्यास वा कसरत मात्र हो भन्ने पनि देखिन्छ।योग शारीरिक अभ्यास मात्र होईन। गीतामा खासगरी ज्ञान योग, कर्म योग र भक्तियोगको गरी तीन योगको वर्णन गरिएको छ।म आत्मा हुँ भनी जान्नु अर्थात बोध हुनु ज्ञान योग हो। म आत्मा हुँ भनी जानेर कर्म गर्नु वा निस्काम कर्म गर्नु कर्म योग हो। परमात्मालाई जान्नु र प्रेमले चिन्नु भक्तियोग हो।ज्ञानयोग, भक्तियोग र कर्म योग परमात्मासम्म पुग्ने वा परमात्मालाई प्राप्त गर्ने वा जान्ने सोपान अर्थात भर्याङ हो। तसर्थ हामीले जुन कर्म गरिन्छ त्यसको वारेमा जान्ने तथा कर्तापनलाई त्याग गर्दै प्रभूमा समर्पण गरी परमात्मालाई जानेर उसको यादमा प्रेममा जीउनु नै यसको सार हो।
ध्यानयोगको महिमा अझ प्रगाढ छ। कुनै विषय वा कार्यमा रुचिपूर्वक भएको एकाग्रता तन्मयता अर्थात मनमस्तिष्क एकाग्र भएको स्थिति ध्यान हो ।मन वा चित्तलाई एकाग्र पार्ने एक प्रकारको योग वा साधना ध्यान योग हो भनी नेपाली वृहत शव्दकोषमा लेखिएको छ।चित्तको निरन्तर एकाग्रताको प्रवाहलाई ध्यान भनिन्छ भनी शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयबाट प्रकाशित राष्ट्रिय योग अभ्यासक्रम नामक कितावमा उल्लेख भएको पाईन्छ।ध्यान लगातार चिन्तन मननको एक क्रिया हो भनी भारतीय आयुष मन्त्रालयद्धारा प्रकाशित सामान्य योग अभ्यासक्रम नामक कितावमा लेखीएको छ। ध्यान चेतनाको विशुद्ध अवस्था हो जँहा कुनै विचार तथा विषय हुँदैन।
महर्षि पतञ्जलीले प्रतिपादन गरेका योगका आठ अङ्ग यम,नियम,आसन,प्राणायाम, प्रत्याहार,धारणा, ध्यान एवं समाधि मध्ये ध्यान अति महत्वपूर्ण अङ्ग हो।जापानी शव्द झेन र चिनीया शब्द च्यान यि दुई शब्दबाट अपभ्रंश भएर बनेको शब्द ध्यान हो।अंग्रेजीमा ध्यानलाई मेडिटेशन भनिन्छ।साथै अवेरनेश शब्द यसको ज्यादा नजिक छ। हिन्दीमा बोध शब्द ध्यानको नजीक छ।यसर्थ ध्यानको मूल अर्थ जागरुकता,अवेरनेश,होस,साक्षीभाव वा दृष्टाभावसमेत हो। पातञ्जल योग प्रदीपमा लेखिएको छ ूतत्र प्रत्यैकतानता ध्यानम, अर्थात् जहाँ मन लगाइएको छ, त्यसै वृत्तिमा एकनासले मन लगाइरहनु ध्यान हो।
अष्टाबक्र भन्नुहुन्छ, ‘निर्विषय चेतनाको अवस्थामा ध्यान घटित हुन्छ। गुरु गोरखनाथ वावाले ूहंसिबा खेलिबा धरिबा ध्यान,अहनिसि कथिबा ब्रह्म गियान। हंसै खेलै न करै मन भंग, ते निहचल सदा नाथ के संग भनी ध्यानलाई महत्व दिनुभएको छ। ध्यानको उत्पतिकर्ता भगवान शिवलाई मानिन्छ।भगवान शिवले पार्वतीलाई ध्यानका ११२ विधि वताएको मानिन्छ जुन विज्ञान भैरव तन्त्रमा संग्रहित भएको पाईन्छ। गौतम वुद्धले अप्पो दिपो भव अर्थात आफ्नो दियो आफै वन भन्नु भएको छ।त्यसैगरी आनापान सति अर्थात आएको गएको श्वास प्रति सजग हुन जोड दिदै विपश्यना ध्यान विधिको आविश्कार गर्नुभएको हो। सत्गुरु ओशोले १५० भन्दा बढी ध्यान विधिको वर्णन आफ्नो प्रवचनमा गर्नु भएको छ।सहज समाधि ध्यान अर्थात विश्राम गर्ने कला ध्यान हो।वेद, उपनिवद तथा गिता अनुसार ध्यान नै सत्य हो। ध्यानबाट नै सत्य प्राप्त गर्न सकिन्छ।ओशो भन्नुहुन्छ, ध्यान आफ्नो आँखा खोल्ने कला हो।आफ्नो आँखालाई स्वच्छ पार्ने कला हो।
चेतनाको दर्पणमा जमेको धुलो झडने कला हो। ध्यानले अतितको स्मृति र भविश्यको कल्पनालाई मेटाईदिन्छ वा शून्य बनाउछ। एकाग्रता मात्र हुनु ध्यान होईन।विचार वा क्रियाबाट मुक्त हुनु ध्यान हो। भित्र जाग्नु र सदा निर्विचारको दशामा रहनु ध्यान हो।निर्विचार चेतना ,शान्त र विश्रामपूर्ण बोध हो। जे कुरा गरिन्छ त्यो होशपूर्वक गर्नु नै ध्यान हो।ध्यान विधि हो भने समाधि उपलब्धि हो।चेतनाको विशुद्ध अवस्था ध्यान हो जहाँ कुनै विचार रहँदैन कुनै विषय रहदैन।जव कुनै विचार चल्दैन भने र कुनै कामनाले टाउको उठाउदैन भने सम्पूर्ण समस्याहरु शान्त हुन्छन र हामी पूर्ण मौनमा हुन्छौ त्यो मौन ध्यान हो।मौन र शान्त क्षणमा नै हामीले स्वयमको सत्ताको अनुभूति गर्छौ।
सञ्जीवनी ध्यान के हो ?
सञ्जीवनी भनेको मरेको व्यक्तिलाई पूनर्जिवित पार्ने एक प्रशिद्ध अमृत वा बुटी विशेष हो। रामायणमा संञ्जीवनी बुटीको वर्णन गरिएको पाईन्छ।राम रावणयुद्धमा जव मेघनाथको अस्त्रले लक्ष्मण जब मूर्छित हुनुभयो त्यससमयमा उहाँको जीवन बचाउन हनुमानजीले सञ्जीवनी बुटी पत्ता लगाउन नसकेकोले लक्ष्मणको ज्यान बचाउनको लागि पूरै द्रोणागिरी पर्वत नै उठाएर लिएर आए।सञ्जीवनी बुटीको रहस्य सुषेण वैद्यलाई मात्र थाहा थियो।तसर्थ हनुमानजीले उनलाई उनको कुटी सहित उठाएर लिएर आए।सुषेण वैद्यले शिवजीको तपस्या गरेर आफू अमर हुन पाँउ भन्ने वरदान मागेका थिए तर शिवजीले यो संभव छैन मैले तिमीलाई संञ्जीवनी विद्याको वारेमा वताईदिन्छु भनी बताईदिएको हुँदा उनलाई मात्र सञ्जीवनी बुटिको विद्याको ज्ञान प्राप्त भएको थियो।वैद्यले उक्त संञ्जीवनी बुटी लक्ष्मणजीलाई खुवाएपछि होसमा आउनुभएको थियो।तसर्थ त्यही अमृत वनस्पतिको नामबाट ध्यानको नाम पनि सञ्जीवनी ध्यान विधि राखिएको छ। ध्यान बिधि अमृत जस्तै छ जसले मुर्छामा भएको व्यक्तिलाई पनि जगाईदिन्छ।सञ्जिवनी ध्यान बडो अदभूत छ।यो ध्यान विधि सरल र सजिलो छ जुन बच्चा देखि बृद्धसम्मको व्यक्तिलाई अनुकूल छ। यो बिधि शरीर, ह्रदय र मनको श्रृङखलामा उपयोगी हुन्छ।यो विधिमा शरीरको पनि पूरा उपयोग छ, भावको पनि उपयोग छ र होसको पनि पूरा उपयोग हुन्छ।
सञ्जीवनी ध्यान बिधिका चरण
सञ्जीवनी ध्यानका आठ चरण छन।यो ध्यान उभिएर वा बसेरै पनि गर्न सकिन्छ।यो बिधिको प्रयोग विहानको समयमा गरिन्छ।यसको अवधि कम्तिमा एक घण्टाको र बढीमा आफ्नो समयानुकूल जतिसमय पनि लम्वाउन सकिन्छ।प्रत्येक चरण पाँच देखि पन्ध्र मिनेटको हुन्छ अर्थात यि चरणहरु आफ्नो समय अनुकूल लम्वाउन तथा छोटाउन सकिन्छ।
पहिलोचरण प्रार्थना अर्थात अहोभाव
सञ्जीवनी ध्यानको पहिलो चरणमा समग्र अस्तित्वप्रति अहोभाव व्यक्त गरिन्छ। उभिएर अर्थात खडा भएर दुवै हात जोडेर नमस्कार मुद्रामा तीन पटक ॐकारको ध्वनी निकालेर समग्र अस्तित्वप्रति अहोभभाव व्यक्त गरिन्छ । सम्पूर्ण अस्तित्वप्रति अहोभावले भरिन्छ।
दोस्रो चरण जगिङ्ग गर्ने
दोस्रो चरणमा जगिङ्ग गरिन्छ। जगिङ्गलाई शुक्ष्म व्यायम अर्थात शारीरिक अभ्यास वा कसरत पनि भन्न सकिन्छ। संगीतको तालमा कम्तीमा पनि पाँच मिनेट जगिङ्ग गरेर आफ्नो शरीरको सुशुप्त अवस्थामा भएको उर्जालाई जगाईन्छ।शरीरलाई फूर्तिलो बनाईन्छ।
तेस्रो चरण भस्त्रिका प्रणायाम गर्ने
यो चरण करिव कम्तिमा पनि दश मिनेटको गर्न सकिन्छ।यस चरणमा भस्त्रिका प्रणायाम गरिन्छ।प्रणायाम शब्द प्राण र आयाम दुई शब्द मिलेर बनेको छ।सामान्यतया हामीले लिने स्वाशलाई प्राण भनिन्छ भने आयाम भनेको फैलाउनु वा बढाउनु हो।प्रणायाम भनेको हामीमा भएको प्राण शक्तिलाई फैलाउनु वा बढाउनु वा संचित गर्नु हो।यसको अभ्यासले शरीरका सम्पूर्ण नाडीहरुलाई शुद्ध गरी प्राणशक्तिलाई सञ्चार गराउँछ।प्रणायामले ध्यानलाई सहज बनाउछ। यस चरणमा दुवै आँखा बन्द वा चिम्म गरेर मुख पनि बन्द गरेर जोडजोडले नाकबाट स्वाश फ्याक्नु पर्दछ।यो भस्त्रिका प्रणायाम आफू अनुकूल बसेर वा खडा भएर दुवै तरिकाले गर्न सकिन्छ।
चौथो चरण कपालभाति गर्ने
कपालभाँतीलाई प्राणायाम पनि भनिन्छ भने कतै क्रिया पनि भन्ने गरेको पाईन्छ।नाभिको धक्काका साथ जोडजोडले स्वाश वाहिर फाल्ले क्रियालाई कपालभाति भन्ने गरिन्छ। यस चरणमा आरामले प्राण मुद्रामा सुखासनमा बसेर मुख खोलेर मुखबाट पनि स्वास फाल्ने गरिन्छ वा मुखबन्द गरेर नाकबाट पनि जोडजोडले स्वास फालिन्छ र पेटलाई संकुचित हुन दिने गरिन्छ।यो क्रिया सङ्गीतको साथमा पहिला विस्तारै गरिन्छ भने सङ्गीतको लयसंगै क्रमश छिटोछिटो गर्ने गरिन्छ।यो चरण पनि करिव दश मिनेट जति गरिन्छ।
पाँचौ चरण उत्सव वा किर्तन गर्ने
पाँचौ चरण पनि करिव दश देखि पन्ध्र मिनेटको हुन्छ।यस चरणमा सङ्गीतको तालमा नृत्य गर्ने गरिन्छ।सङ्गीत र नृत्यको माद्यमबाट आफ्नो अन्तसको अहोभावलाई व्यक्त गरिन्छ।नाँच्ने गाउने तथा उत्सव मनाउने गरिन्छ। यो चरण पनि कम्तीमा दश देखि १५ मिनेट गर्न सकिन्छ।
छैटौ चरण शिथिलीकरण
यस शिथिलीकरणको चरणमा चुपचाप रहनुपर्दछ।शवासन वा सुखासन आफूलाई कुन आसन सहजलाग्छ त्यस आसनमा रहेर चुपचाप बस्नु पर्दछ।शरीर शिथिल भएको भाव गर्नुपर्दछ।पैतला देखि शिरसम्म शरीरका एकएक भाग शिथिल भएको भाव गर्ने र सबै शिथिल भएको अनुभव गर्ने गरिन्छ। स्वाश विस्तारै मन्द वा धीमा भएको एवं मन शान्त भएको र विस्तारै विस्तारै एक सन्नाटा पैदा भएको महशुस गरिन्छ।कम्तीमा पनि दश मिनेट यो चरणमा रहनु पर्दछ।
सातौ चरण आत्मस्मरण गर्ने
यस चरणमा वन्द आँखाले आन्तरिक आकास वा अन्तर आकाशलाई हेर्ने एवं देख्ने काम गरिन्छ। यही नै हाम्रो निराकार स्वरुप हो। रुप भित्र अरुप तथा साकार भित्र निराकारको अनुभव गर्दै शुन्य चैतन्य निराकारलाई हेर्दैहेर्दै यसमा लीन भई आत्मस्मरणमा डुव्ने गरिन्छ।आफ्नो समयअनुकूल जति अवधि पनि गर्न सकिन्छ।
अन्तिम चरण मङ्गल भाव व्यक्त गर्ने
यस चरणमा मङ्गल धुनका साथ मङ्गलभाव व्यक्त गरिन्छ।शान्ति प्राथना गर्ने गरिन्छ।आत्मसंकल्प गरिन्छ। आफ्ना माता पिता, ईष्ट देवता, गुरु, योगी ऋषिमूनिहरु, प्रकृति, ईश्वर, परमात्मा तथा समग्र अस्तित्वलाई धन्यवाद व्यक्त गरिन्छ।
ध्यानको फाईदा एवं उपयोगिता
ध्यान हाम्रो स्वयमको रुपान्तरण हो।ध्यानको उपयोगिता अदभूत छ।ध्यान बिधिको प्रयोग पहिलो पटक समूहमा गर्नु पर्दछ अर्थात गुरुको सामिप्यतामा गर्नु पर्दछ र पछि एक्लै गर्न सकिन्छ।ध्यानले व्यक्तिलाई शारीरिक तथा मानसिकरुपमा स्वस्थ्य बनाउदछ।ध्यानले व्यक्तिको उसको शरीरमा अक्सिजन लेवल बढाउँदछ।शरीर भित्र रहेको कार्वनडाईअक्साईड वाहिर फ्याकिन्छ र शरीरको कोशिकामा उर्जाको संचार प्रवाह हुन्छ।व्यक्तिलाई दमीत भावनाबाट मुक्ति मिल्छ।शरीरमा उर्जा फैलिन्छ।शरीरका हरेक रोगको लागि लाभदायक मानिन्छ र मनमा शान्ति प्राप्त हुन्छ।हरेक तनावबाट मुक्ति मिल्छ।साथै सजगता र होसमा वृद्धि भई स्वयमको रुपान्तरण गर्न सहयोग पुग्दछ।शरीरप्रति, विचारप्रति, भाव वा अनुभूतिप्रति होसपूर्ण हुँदै आनन्दित जीवन जिउन ध्यानले सहयोग पुर्याउदछ।खासगरी सञ्जीवनी ध्यानबिधि सरल तथा सजिलो र सबै उमेरसमूहका व्यक्तिले आफ्नो अनुकूलता अनुसार गर्न सकिन्छ।नेपालका हरेक ओशो ध्यान केन्द्रहरुमा यो बिधिको प्रयोग गरिन्छ।
ओशोले भन्नु भएकोछ, जो व्यक्ति शरीरवादी छ वा शरीरको तलपर ज्यादा संवेदनशील छ त्यो व्यक्ति शरीरको माद्यमबाट ध्यानको अनुभवमा पुग्न सक्दछ।जो व्यक्ति भाव प्रणव अर्थात भावुक प्रकृतिको व्यक्ति छ त्यो व्यक्ति भक्ति प्राथनाको माद्यमबाट ध्यानको मार्गमा जान सक्दछ।जो व्यक्ति वुद्धि प्रणव छ अर्थात वुद्धिजिवी छ उसको लागि ध्यान, सजगता ,साक्षीभाव उपयोगी हुन सक्दछ।मैलै जुन ध्यान विधिको सिर्जना गरेको छुँ त्यो बिधि तीन प्रकारको व्यक्तिको लागि उपयोगी छ।जसमा शरीरको पनि पूरा उपयोग हुन्छ,भावको पनि पूरा पयोग हुन्छ र होसको पनि पूरा उपयोग हुन्छ।शरीर, ह्दय, मन तीनको एकसाथ उपयोग हुन्छ। मेरो सबै ध्यान बिधिले शरीर, ह्दय, मनको श्रृङखलामा काम गर्छ ू भनी भन्नुभएको छ।
अत हाम्रो मन विभाजित छ र अनेक विचारहरु हाम्रो मनमा उठिरहन्छन।मनमा उठेका विचारहरुले हामीलाई डावाडोल पार्न सक्छ।जेजति पनि अपाधिक प्रकृतिका कार्यहरु हुन्छन ती सवै वेहोशीपनमा हुने गर्दछन।हाम्रो मनमा उठने षडऋपुहरु काम, क्रोध, लोभ, मोह, ईर्श्या, द्धेष कृत्यमा अर्थात कार्यरुपमा जव परिणतहुन्छन तव सत्यनिष्ठामा स्खलन आउछ त्यो सवै वेहोसमा हुने गर्दछ।ध्यानले बोध तथा होस बढाउँछ।विचार तथा भाव प्रति होस र सजगता आँउछ।जसले गर्दा हामी शरीर, विचार र भाव यी तीनै प्रति जागरुप हुन्छौ र हामीमा साक्षीभाव उत्पन्न हुन्छ।यसर्थ हामीले कुनैपनि प्राणीलाई अहित हुने खालका क्रियाकलाम गर्न सक्दैनौ।व्यक्ति,परिवार, समाज तथा राष्ट्रलाई हानी हुने खालका कार्यहरु प्रति सजग रहन्छौ।त्यसैले ध्यान हरेक व्यक्तिको लागि महत्वपूर्ण छ।
ypbhattarai@gmail.com