त्रिविको उपकुलपति पदका लागि १६ जनाको आवेदन
-आस्था न्यूज
माघ ७, २०८० काठमाडौं।
त्रिभुवन विश्वविद्यालयको उपकुलपति पदमा हालसम्म १६ जनाको आवेदन परेको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक कुमार राईको अध्यक्षतामा बनेको उपकुलपति सिफारिस समितिमा आइतबारसम्म १६ जनाको आवेदन परेको हो ।
आवेदन दिने समय सोमबारसम्मका लागि तोकिएको छ । भोलिसम्म केही थप व्यक्तिहरूले समेत आवेदन दिने अपेक्षा गरिएको छ ।
आइतबारमात्र त्रिविका पूर्व डीन गुणनिधी न्यौपाने, परीक्षा बोर्डका पूर्व अध्यक्ष प्राडा चन्द्रमणि भट्टराई लगायतले आवेदन दिएका छन् । त्यस्तै त्रिविकै पूर्व उपकुलपति तीर्थ खनियाले समेत आकांक्षा देखाएका छन् । तर, उनले आजसम्म आवेदन भने दिएका छैनन् ।
अरू क–कसको आवेदन परेको भन्नेबारे चाहिँ समितिले केही खुलाएको छैन । आइतबार आवेदन दर्ता गराएका पूर्व डीन न्यौपानेले त्रिविको व्यापक सुधारका लागि आफ्नो उम्मेदवारी रहेको बताए ।