विराटनगरमा हृदयरोग उपचार केन्द्र तयार

माघ ०७,२०८०

-आस्था न्यूज

माघ ७, २०८० काठमाडौं। 
शैलजा आचार्य हृदय रोग केन्द्र विराटनगर अस्पताल सञ्चालनको तयारी पूरा भएको छ । कोशी प्रदेश सरकारले सञ्चालन गर्न लागेको उक्त अस्पतालको सोमबार उद्घाटन गरिने भएको छ ।
 
अस्पतालको उद्घाटन प्रदेश प्रमुख पर्शुराम खापुङ्, प्रतिनिधिसभा सदस्य तथा कांग्रेस नेता शेखर कोइराला र कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले संयुक्त रूपमा गर्ने भएका छन् ।
 
मुख्यमन्त्री कार्कीले प्रतिस्थापन विधेयकबाट चालु आर्थिक वर्षका लागि ल्याएको बजेटमार्फत हृदय रोग उपचार केन्द्र सञ्चालनको घोषणा गरेका थिए । 
 
अस्पताल सञ्चालनका लागि चिकित्सक, उपकरण, भौतिक संरचना लगायतका सम्पूर्ण तयारी पूरा भएको प्रदेश स्वास्थ्य मन्त्रालयकी सचिव डा. सुधा देवकोटाले बताइन् ।
 
प्रतिनिधिसभा सदस्य तथा कांग्रेस नेता कोइराला, मुख्यमन्त्री कार्की, प्रदेश योजना आयोगका उपाध्यक्ष पुरञ्जन आचार्य, गणेशराज कार्कीलगायतले उक्त अस्पताल सञ्चालनका लागि गरिएको तयारीको आइतबार अनुगमन गरेका छन् ।
 
उनीहरूले अस्पतालसँगै रहेको प्रदेश जनस्वास्थ्य प्रयोगशालाको समेत अनुगमन गरे । उक्त प्रयोगशालामा नै उक्त हृदयरोग उपचारार्थ आउने बिरामीको परीक्षण गर्ने व्यवस्था गरिएको छ ।
 
अनुगमनपछि कोइरालाले हृदयरोग उपचारका लागि शैलजा आचार्य हृदय रोग केन्द्र उपयुक्त भएको बताए । उनले यस अस्पतालले काठमाडौं बाहिर बिरामीहरूको हृदय रोगको उपचारको ढोका खुलेको बताए ।
मुख्यमन्त्री कार्कीले कोशी प्रदेशका हृदय रोगका बिरामीहरूको उपचार संघीय सरकारको एक लाख र प्रदेश सरकारको एक लाख गरी दुई लाखले निःशुल्क उपचार हुने बताए । 
 
उनले यो अस्पताल सञ्चालनले कोशी प्रदेशका साथै मधेस प्रदेशका हृदय रोग बिरामीलाई काठमाडौं र भारत धाउनुपर्ने बाध्यात्मक अवस्थाको अन्त्य भएको पनि उल्लेख गरे ।