Trending :
 

नेताको स्तुति छाडेर विद्यार्थीको समस्यामा ध्यान दिउँः मुख्यमन्त्री कार्की

माघ ०७,२०८०

-आस्था न्यूज

माघ ७, २०८० काठमाडौं। 
कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले विद्यार्थी नेताहरूलाई झण्डा बोक्न र नेताको स्तुतिगान गर्न छोडेर विद्यार्थीको समस्या समाधानमा ध्यान दिन आग्रह गरेका छन् ।
 
पूर्वाञ्चल इञ्जिनियरिङ क्याम्पस धरानका विद्यार्थीले आयोजना गरेको राष्ट्रिय प्रविधि मेलाको समापन कार्यक्रममा आइतबार उनले यस्तो बताएका हुन् ।
 
विद्यार्थीहरूले अब नेताको पछि लाग्नुभन्दा पनि समाज  र देशको लागि काम गरेर नमुना प्रदर्शन गर्नुपर्नेमा उनले जोड दिए ।
 
‘अहिलेका विद्यार्थी सामाजिक सञ्जालमा भ्रष्टाचार भयो भनेर लेख्दै चित्त बुझाइरहेको अवस्थामा परिवर्तन ल्याउनु जरूरी छ,’ उनले भने, ‘सामाजिक सञ्जालमा भ्रष्टाचार भएको पोष्ट्याएर फेरि नेताको स्तुति गानमा लाग्ने गरेको देखिन्छ । के स्तुति गान र समाजिक सञ्जालको पोष्टले देश सुध्रिन्छ ? देश विकासका लागि एक कदम अगाडि बढेर काम गरेर देखाउनु पर्दैन ?’
 
संसारका अधिकांश वैज्ञानिकहरू पढेर मात्रै नभइ समाज तथा प्रकृतिको गहन अध्ययनले वैज्ञानिक भएको सबै विद्यार्थीले पढ्ने गरेको तर त्यसलाई बिर्सेर किताबी ज्ञान मात्रै लिने गरेको देखेर उदेक लागेको मुख्यमन्त्री कार्कीले बताए ।