Trending :
 

दाङमा रात्री बस दुर्घटना हुँदा २ जनाको मृत्यु, २ जना घाइते

माघ ०८,२०८०

-आस्था न्यूज

 माघ ८, २०८० काठमाडौं ।
लमही-दाङमा यात्रुबाहक बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ। अन्य २ जना घाइते भएका छन्। 
 
बर्दियादेखि काठमाडौं जाँदै गरेको प्रदेश ३-०१-००५ ख ९७१९ नम्बरको बस आइतबार राति करिब ११ बजेदेखि दाङको लमही नगरपालिका–९ निहार नजिकै दुर्घटना भएको थियो। 
 
दुर्घटनामा ज्यान गुमाउनेमा बर्दियाको गेरुवा गाउँपालिका-१ घर भएका ३६ वर्षीय भिमनाथ योगी र ठेगाना नखुलेका युवराज चौधरी छन्। मृतकहरुको शव लमही अस्पतालमा राखिएको छ।  
 
बसमा ४७ जना यात्रुहरु सवार रहेकामा अन्य यात्रुहरु भने सकुशल रहेका छन्। बस चालक सामान्य घाइते भएका र उनको कोहलपुरमा उपचार भइरहेको छ।
 
प्रहरीका अनुसार बसको पट्टा भाँचिएर दुर्घटना भएको प्रारम्भिक अनुमान छ। पट्टा भाँच्चिएपछि बसको अगाडि बसेका २ जना हुत्तिएर च्यापिन पुगेकाले उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ।  
 
केही दिन अगाडि मात्रै दाङमै भएको बस दुर्घटनामा १२ जनाको मृत्यु भएको थियो । बाँकेको कोहलपुरबाट काठमाडौं जाँदै गरेको बस दाङको भालुवाङस्थित पुलबाट राप्ती नदीमा खस्दा १२ जनाको मृत्यु भएको थियो।