विज्ञापन नीति चाँडै बन्ने मन्त्री शर्माको दाबी
-आस्था न्यूज
माघ ८, २०८० काठमाडौं ।
सूचना ,सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले चाँडै विज्ञापन नीति निर्माण हुने बताएकी छिन् ।
सोमबार विज्ञापन बोर्डले आयोजना गरेको रेडियो टेलिभिजनको व्यवसाय प्रवर्द्धनमा संलग्न जनशक्तिको क्षमता विकास कार्यक्रममा उनले उपलब्ध विज्ञापन पनि सम्बन्धित मिडियामा नपुग्ने कारण तोकेको पारिश्रमिक पनि दिन नसक्दा कामदार र मिडिया साहुहरुकाबिचमा द्वन्द्व भइरहेको भन्दै सञ्चार मन्त्रालय र विज्ञापन बोर्ड मिलेर विज्ञापन नीति चाँडै निर्माण गर्ने बताएकी हुन् ।
‘विज्ञापन बजारमा पनि आर्थिक मन्दीको चरम प्रभाव भोक्दै आइरहेको छौं । जति विज्ञापन उपलब्ध हुन्छन् त्यो विज्ञापन पनि सम्बन्धित मिडियामा पुग्न नसक्दा स्वयम् मिडियालाई टिक्न गार्हो भएको छ । अरु सेवा सुविधा त परको कुरा हो तोकेको पारिश्रमिक दिनपनि अप्ठ्यारो भएको जानकारी प्राप्त भएको छ । जसका कारण द्वन्द्व बढेको छ,’ उनले भनिन्,‘हाम्रो उद्देश्य कमसेकम विज्ञापन नियमावलीमार्फत विज्ञापन नीति बनाउन खोजिरहेका छौं । मन्त्रालय र विज्ञापन वोर्ड मिलेर विज्ञापन नीति बनाउँदै छौं ।’
उनले विज्ञापन नियमावलीमार्फत बजारलाई व्यवस्थित गर्दा र नीतिलाई ठिक ढङ्गले कार्यान्वयन गर्दा मिडियाहरुले स्वतन्त्रताको प्रत्याभूत गर्नसक्ने बताइन् ।