मन्त्रीहरुले गरेको कामहरुको लिखित प्रतिवेदन पठाउन निर्देशन
-आस्था न्यूज
माघ ८, २०८० काठमाडौं ।
शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिले मन्त्रीहरुले गरेको कामहरुको लिखित प्रतिवेदन पठाउन निर्देशन दिएको छ ।
सोमबार बसेको समितिको बैठकले मन्त्रीहरुलाई बोलाएर लिखित कार्य विवरण मगाउन निर्देशन दिने निर्णय गरेको हो ।
समितिका अध्यक्ष भानुभक्त जोशीले मन्त्रीहरुको पूर्ण बैठक बोलाएर छलफल गर्नका लागि हालसम्म गरेको कार्य प्रगति माग गरिएको हो ।
उनले भने, ‘मन्त्रीहरुसँग अहिलेसम्म भएको कामको प्रगतीहरु बारेमा लिखित प्रतिवेदन पठाउनका लागि निर्देशन दिने निर्णय गरेका छौं ।’
त्यस्तै समितिले स्वास्थ्यसँग सम्बन्धित निकायहरु बिमा बोर्ड, चिकित्सा शिक्षा आयोगलगायतका निकायहरुसँग छुट्टाछुट्टै छलफल गर्ने निर्णय गरेको छ ।
यसअघि समितिको कार्यक्रममा बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले स्वास्थ्य क्षेत्रमा कर्मचारी समायोजन र स्वास्थ्य क्षेत्रमा सञ्चालित कार्यक्रमहरुको विवरण माग गरेकी थिइन् ।
त्यस्तै समितिमा बोल्दै सांसद तोसिमा कार्कीले मन्त्रीलाई बोलाएको भएपनि समितिमा उपस्थित नभएको भन्दै आक्रोश व्यक्त गरिन् ।
उनले भनिन्,‘स्वास्थ्यमन्त्री ज्यूलाई उपस्थित गराउन माग गरेको थियौं । मन्त्रीज्यूको कार्यसम्पादन सम्बन्धी सार्वजनिक रुपमा उठेका प्रश्न र अदालतले गरेका निर्णयलाई उल्याएर उहाँले गर्नुभएका कामहरुका विषयमा प्रश्न उठाएका थियौं । तर उहाँ किन आउनु भएन् ?’
समितिका विगतका बैठकबाट दिइएका निर्देशन समेत पालना नभएको भन्दै सांसद कार्कीले बीर अस्पतालका अढाईसय करारका कर्मचारी हटाएर पुनः करार कर्मचारी नियुक्त गरिएको बारेमा समेत प्रश्न उठाइन् ।