Trending :
 

कर्णालीको समृद्धिका लागि ब्यवसायिक कृषिलाई जोड दिऔँः मुख्यमन्त्री शर्मा

माघ ०९,२०८०

-आस्था न्यूज

माघ ९, २०८० काठमाडौं ।
कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले कृषि र वनमा आधारित उद्योगमा आधारित भएर कर्णालीको समृद्धि सम्भव हुने बताएका छन् ।
 
‘कर्णालीमा जल जमिन, जंगल, जडीबुटी पनि छ । कृषिलाई ब्यवसायीकीकरण गर्ने हो भने कर्णालीको संमृद्धि सम्भव छ,’ उनले भने, ‘भौगोलिक अवस्था अनुसार कृषि पशुपालन र वनमा आधारित ब्यवसायिक कार्यले मात्र रोजगारी सिर्जना गर्न सकिन्छ, त्यसबाट आर्थिक विकासमा योगदान पुग्छ ।’
 
प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको दोस्रो त्रैमासिक प्रगति समीक्षा गोष्ठीमा मुख्यमन्त्री शर्माले कृषि  र पशुपालनका क्षेत्रमा गरिने ब्यवसायिक प्रयोगले जनताको जीवनस्तर उकास्न सकिने भएकाले कृषि मन्त्रालय र त्यस मातहतको जनशक्तिको योगदान धेरै महत्वपूर्ण रहने बताए । उनले माटोको अवस्था, वातावरण आदिमा सुहाउँदो कृषि र पशुपालनलाई ब्यवसायिक बनाउन आवश्यक रहेको बताए । 
 
कार्यक्रममा भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री भीमप्रकाश शर्माले किसानलाई आफ्नो पेशा प्रति निराश हुन नदिने बताए । उनले कर्णाली प्रदेशमा मन्त्रालयले अघि बढाएका कार्यक्रमको नतिजा विस्तारै देखिदै गएको समेत दाबी गरे ।