एमालेको झुलाघाट-चिवाभञ्ज्याङ संकल्प यात्राले लोकतन्त्रलाई बलियो बनाउन मद्दत पुगेको प्रधानमन्त्रीको भनाई
-आस्था न्यूज
माघ ९, २०८० काठमाडौं ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एमालेद्वारा गत मंसिर १४ देखि पुस १ सम्म आयोजना गरिएको झुलाघाट-चिवाभञ्ज्याङको संकल्प यात्राले लोकतन्त्रलाई बलियो बनाउन भूमिका खेलेको बताएका छन्। मंगलबार बिहान एमालेका प्रतिनिधि मण्डलसँगको भेटमा उनले सो प्रतिक्रिया दिएका हुन्।
संकल्प यात्राका क्रममा विभिन्न ठाउँमा जनताले राखेका मागहरू एकीकृत गरी एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले सरकारसमक्ष ध्यानाकर्षणपत्र प्रस्तुत गरेको हो। यात्राका क्रममा आफूहरूलाई कुल ७५१ वटा मागपत्र प्राप्त भएका र ती विभिन्न ४६ क्षेत्रसँग सम्बन्धित रहेको एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले बताए।
ज्ञापनपत्र बुझेपछि प्रधानमन्त्री प्रचण्डले ती विषयहरूलाई आफूले गम्भीरतापूर्वक लिएको, एमालेले चलाएको अभियानले, संकल्प यात्राले लोकतन्त्रलाई बलियो बनाउनका निम्ति मद्दत गरेको, कहीँ न कहीँ यो आफूहरूको पनि अभियान हो भन्ने आफूलाई लागेको र तदनुरुप सरकारले शान्ति सुरक्षाको व्यवस्था पनि गरेको बताएका थिए।
‘तपाईंहरूले यी जुन विषय अगाडि सार्नुभएको छ, दराजमा थन्किन पाउने छैनन्। मैले सम्बन्धित निकायलाई कार्यान्वयनका निम्ति ताकेता गर्नेछु। नीति तथा कार्यक्रम र बजेट बन्ने पूर्वसन्ध्यामा तपाईंहरूले यी विषय ध्यानाकर्षण गर्नुभएको हुनाले यसको अधिकतम कार्यान्वयन हुने विश्वास दिलाउन चाहन्छु,’ प्रधानमन्त्रीलाई उद्धृत गर्दै ज्ञवालीले भने।
एमाले अध्यक्ष ओलीले आफूहरूले प्रस्तुत गरेका विषयहरू आफूहरूको मात्रै नभई सिंगै देशका विषयहरू भएको बताएका थिए। त्यसको कार्यान्वयन होस् भनेर उनले विशेष जोड दिएको ज्ञवालीले बताए।