Trending :
 

प्रधानमन्त्री कप क्रिकेटः बागमतीमाथि गण्डकी ३ विकेटले विजयी

माघ ०९,२०८०

-आस्था न्यूज

माघ ९, २०८० काठमाडौं ।
प्रधानमन्त्री कप एक दिवसीय क्रिकेटमा दोस्रो जित निकाल्ने क्रममा दोस्रो स्थानमा रहेको बागमती प्रदेशलाई गण्डकी प्रदेशले ३ विकेटले पराजित गरेको छ ।
 
कीर्तिपुरस्थित क्रिकेट मैदानमा मंगलबार भएको खेलमा पराजित भएपछि बागमतीले शीर्ष स्थानमा उक्लने मौका गुमायो ।
 
पहिला ब्याटिङ गरेको बागमतीले निर्धारित ओभरको ५ बल बाँकी हुँदा सवै विकेट गुमाएर १९८ रन बनाएको थियो ।
 
जवाफमा गण्डकी प्रदेशले ४९.३  ओभरमा ७ विकेट गुमाएर लक्ष्य पूरा गर्दै ३ विकेटको जित दर्ता गरेको हो । 
 
बागमतीका लागि आशुतोष घिररैयाले ४४ रन बनाउँदा इशान पाण्डेले ४३ रनको योगदान गरे । यसैगरी विपिन आचार्यले ३८ तथा  अशोक पौडेलले ३० रन बनाए । सूर्य तामाङको ब्याटबाट १५ रन बन्दा बागमतीले अतिरिक्त ११ रन पाएको थियो ।
 
गण्डकीका कमल परियारले सर्वाधिक ४ विकेट लिँदा अमृत गुरुङ र विपिन खत्रीले दुई दुई विकेट लिए । सन्दीप पराजुलीको नाउँमा १ विकेट रह्यो ।
 
१९९ रनको लक्ष्यसहित मैदान उत्रिएको गण्डकी प्रदेशले पहिलो विकेटका लागि ५५ रनको साझेदारी गर्दै आफूलाई अघि बढाएको थियो । 
 
गण्डकीका लागि करण पंगेनीले उत्कृष्ट पारि खेल्दै ७४  रन बनाए । इश्वर क्षत्रीले ३६ रन बनाउँदा मुस्कान थापाले २७  रन बनाए । 
 
समिर कँडेलले १९ रन बनाउँदा कमल परियार २० रन बनाएका थिए । अन्त्यमा कृष ऐर र अंकित  न्यौपानेले नटाउट पारि खेल्दै जिते । 
 
अंकितले ६ तथा कृषले ३ रन बनाए । बागमतीका प्रतिश जीसीले २ विकेट लिँदा रिजन ढकाल, सूर्य तामाङ, विपिन आचार्यले एक एक विकेट लिए ।