हेम्जाका किसानदेखि भाषासेवीसम्म सम्मानित
-आस्था न्यूज
माघ ९, २०८० काठमाडौं ।
शिक्षासेवी टीकाराम बास्तोलाको स्मृतिमा हेम्जाका राष्ट्रिय प्रतिभा सम्मानित भएका छन् ।
सम्मानित हुनेमा भाषासेवी मुकुन्दशरण उपाध्याय, प्यारासुट जम्प गर्ने पहिलो साहसी महिला अन्नपूर्णा कुँवर, हेम्जाका व्यावसायिक कृषक शोभाकर तिम्सिना, साहित्यसेवी कृष्ण उदासी, र मानवसेवा आश्रम पोखरा–२५ छन् ।
उनीहरूलाई १२ हजार एकसय पाँच रुपैयाँसहित सम्मान गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथि पोखरा महानगरका प्रवक्ता मोतिराज तिमिल्सिना, टीकाराम बास्तोला स्मृति कोषका संस्थापकद्वय डा. दिनेश बास्तोला, इन्जिनियर रमेश बास्तोला र संस्थाका अध्यक्ष बलराम पौडेलले संयुक्त रूपमा सम्मान गरे ।
महानगरका प्रवक्ता मोतिराज तिमिल्सिनाले टीकाराम बास्तोलालाई आफ्नो गुरु भन्न पाउँदा गौरवबोध हुने गरेको स्मरण गरे । उनले बास्तोलाले शिक्षा, साहित्य र समाजसेवाका क्षेत्रमा देखाएको बाटो हिँड्नसके नै उहाँप्रति सच्चा सम्मान हुने बताए ।
सम्मानित प्रतिभा मुकुन्दशरण उपाध्यायले टीकाराम बास्तोलाले आफ्नो उर्जाशील जीवनमा बालेको सत्कर्मको ज्योति आज जाज्वल्यमान भएर बलेको धारणा राखे ।
अन्नपूर्णा कुँवरले आफूलाई विद्यामन्दिर भित्रको सिकारु पुजारीका रूपमा चिनाइन् । उनले टीकाराम बास्तोला, मुकुन्दशरणलगायतका गुरुहरूबाट हाम्रा मौलिक संस्कार, संस्कृति र भाषा सिक्न पाउनु आफ्ना लागि सौभाग्य रहेको बताइन् । सोही समारोह बीच उनले प्रतिष्ठानको कोष स्तरोन्नतिका लागि प्राप्त पुरस्कारमा ५ हजार थपसहित अध्यक्षलाई अर्पण गरिन् ।
कोषका संस्थापक डा. दिनेश बास्तोलाले आफू आजका दिनमा यो अवस्थामा रहनका लागि हेम्जाले नै सिकाएकाले जन्मभूमिको सेवककारूपमा आफूले सक्दासम्म यस्ता कार्यक्रमलाई निरन्तरता दिने बताए । उनले प्रतिष्ठानको अक्षयकोषका लागि हरेक वर्ष प्रदान गर्दै आएको १६ हजार ५ सय नगदसमेत हस्तान्तरण गरे ।
स्वतन्त्र पत्रकार संघ कास्कीका अध्यक्ष असफल गौतमले टीकाराम बास्तोलाका आयाम र अध्यायको सम्मानमा जनस्तरबाट जसरी कार्य भएको छ अब हरेक तहका सरकारले योगदान र क्षमताका आधारमा आफ्ना क्षेत्रका प्रतिभाको संरक्षण र पहिचानमा लाग्न आवश्यक रहेको बताए ।
सम्मानित प्रतिभाको चिनारी राख्दै प्रतिभा छनौट समितिका संयोजक कृष्णप्रसाद पौडेलले यसपटक फरक–फरक विधामा राष्ट्रिय ख्यातिप्राप्त प्रतिभालाई एउटै मञ्चमा सम्मानित गरिएको जानकारी दिए । पौडेलको संयोजकत्वमा संस्थाका संस्थापक सचिव कोविदशरण उपाध्याय र उपाध्यक्ष सुनिल गायक रहेको तीन सदस्यीय समितिले उक्त प्रतिभाको नाम सिफारिस गरेको थियो ।
शिक्षासेवी माधवशरण पौडेलले टीकाराम बास्तोलाको चिनारी प्रस्तुत गर्दै शिक्षा, साहित्य र समाजसेवाका त्रिवेणीकारूपमा चिनाए ।
कार्यक्रममा निवृत्त शिक्षक समाजका अध्यक्ष कृष्णबहादुर कुँवर, सम्मरबहादुर गायक, लालबहादुर गायक र सारंगी पाठशालाका भाइबहिनीले गीतसमेत प्रस्तुत गरेका थिए ।
कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै रमा त्रिपाठीले टीकाराम बास्तोलाले गाउँका छोरीचेली र बुहारीले अध्ययन गर्न पाउनु भन्ने धारणाले हेम्जामा क्याम्पस स्थापना गरेको स्मरण गरिन् ।
संस्थाका अध्यक्ष बलराम पौडेलले हरेक वर्ष माघ ८ गतेका दिन टीकाराम बास्तोलाको स्मृति दिवसमा प्रतिष्ठानले विविध कार्यक्रम सञ्चालन गर्दै आइरहेको जानकारी दिए । सभामा सहसचिव गंगा त्रिपाठी र कोषाध्यक्ष रिता कार्की कुँवरले बास्तोलाका विविध आयामबारे प्रष्ट पारेका थिए ।