Trending :
 

जर्जियामा नेपाली प्रतियोगी लोयाङलाई ‘वल्र्ड राइजिङ स्टार २०२४’ को उपाधि

माघ ०९,२०८०

-आस्था न्यूज

माघ ९, २०८० काठमाडौं ।
जर्जियामा भएको ‘वल्र्ड राइजिङ स्टार २०२४’मा नेपाली प्रतियोगी लोयाङ शेर्पाले शीर्ष उपाधि जितेका छन् । 
 
कपनको त्रिज्योति स्कुलमा कक्षा ७ मा अध्ययनरत लोयाङले ४० देशका बालबालिकालाई पछि पार्दै यो उपाधि जितेका हुन् । ट्यालेन्ट राउन्डमा ‘रेशम फिरिरी’ गीत गाएका उनले विधातर्फ ‘ट्यालेन्ट राउन्ड’को अवार्ड पनि जिते ।
 
प्रतियोगितामा एन्जल बाबु कट्टेलले ‘ट्यालेन्ट अवार्ड’ र सनिस्ता रेग्मीले ‘युरोसिया’ अवार्ड जिते ।
 
उनीहरु प्रतियोगितामा सहभागी भई मंगलबार बिहान काठमाडौं फर्किएका छन् । लोयाङले शीर्ष उपाधि जित्दा खुशी लागेको बताए । शेर्पाले प्रतियोगिताको ‘कल्चरल राउण्ड’मा शेर्पा जातिको पोसाक बख्खु लगाएका थिए ।
 
लोयाङका पिता जाङ्बु शेर्पाले छोराले प्रतियोगिताको शीर्ष उपाधि जित्छ नै भन्ने आफूले नसोचेको बताए । प्रतियोगितामा ‘वल्र्ड राइजिङ स्टार २०२३’ का विजेता प्रसुन जंग पोखरेल विशेष अतिथिका रुपमा गएका थिए ।
 
प्रतियोगीलाई जर्जिया पठाउने व्यवस्थापन गरेको परिवर्तन इभेन्ट हाउसकी प्रमुख सोनिया जीआरले आफ्नो कार्यक्रम ‘डीएसए स्टार’का विजेताले अन्तर्राष्ट्रिय प्रतियोगितामा शीर्षसहित विधागत अवार्ड जित्दा गौरवको अनुभव गरेको जनाइन् ।