Trending :
 

बिहानैदेखि बाक्लो हुस्सु, चिसो बढ्दा तराईको जनजीवन प्रभावित

माघ १०,२०८०

-आस्था न्यूज

माघ १०, २०८० काठमाडौं ।
बाक्लो हुस्सु लागेर चिसो बढेपछि पूर्वी तराईको जनजीवन प्रभावित बनेको छ । अधिकांश भूभागमा बिहानैदेखि बाक्लो हुस्सु र कुहिरो लागेको छ ।
 
केही दिन अघिसम्म बिहान हुस्सु लागे पनि दिउँसो सामान्य घमाइलो हुने गरेको थियो । तर पछिल्ला दिन बिहानदेखि दिनैभरि हुस्सु लाग्ने गरेकाले जनजीवन प्रभावित बनेको हो ।
 
चिसो धेरै बढेपछि सार्वजनिक स्थानहरुमा सर्वसाधारणको चहलपहल सामान्यभन्दा कम देखिएको छ ।
 
विराटनगर र आसपासको तापक्रम न्यूनतम ८ डिग्री सेल्सियसभन्दा कम मापन गरिएको छ ।
 
चिसोका कारण झापा, मोरङ, सुनसरीमा जनजीवन प्रभावित बनेको हो । चिसो बढ्दा खासगरी वृद्धवृद्धाहरु बढी समस्यामा परेका छन् ।
 
चिसोका कारण बिरामी हुनेहरु विभिन्न स्वास्थ्य संस्थामा उपचारका लागि पुग्ने गरेका छन् ।
 
गत साता पनि एक्कासि चिसो बढेको थियो । चिसो बढेपछि अधिकांश स्थानमा विद्यालयहरुमा विदा दिइएको थियो । त्यसपछि केही दिन घाम लाग्ने गरे पनि फेरि हुस्सु लाग्न थालेर चिसो बढ्न थालेको हो ।
 
प्रतिकूल मौसममा कारण विराटनगरबाट हुने हवाई उडानहरु पनि प्रभावित बनेका छन् । विराटनगर विमानस्थलबाट दिउँसोसम्म कुनै पनि उडान हुन सकेको छैन ।
 
यसैबीच, मौसम पूर्वानुमान महाशाखाले आजे देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम मुख्यतया सफा रहने जनाएको छ ।
 
कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थान तथा देशका बाँकी उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।