सूर्य नेपाल इस्टर्न ओपन सुरु, शुक्रलाई एक स्ट्रोकको अग्रता
-आस्था न्यूज
माघ १०, २०८० काठमाडौं ।
सूर्य नेपाल गल्फ टुर २०२३-२४ अन्तर्गतको तेस्रो प्रतियोगिता सूर्य नेपाल इस्टर्न ओपन सुरु भएको छ । पहिलो दिन नेपाल नम्बर एक गल्फर शुक्रबहादुर राई ३-अन्डर ६७ को स्कोरमा शीर्षस्थानमा रहे ।
डिफेन्डिङ च्याम्पियन शुक्रले धरानका अर्का गल्फर नीरज तामाङलाई १८ होलको समाप्तिमा १ स्ट्रोकले पछि पारेका हुन् । २–अन्डर ६८ सहित तामाङ दोस्रो स्थानमा छन् ।
एमेच्योरद्वय युवराज भुजेल र पदम हाङ संयुक्तरुपमा तेस्रो स्थानमा रहे । उनीहरूले १–अन्डर ६९ स्कोर गरे । पूर्व नम्बर एक गल्फर भुवन नगरकोटी इभन–पार ७० सहित पाँचौ स्थानमा र १–ओभर ७१ स्कोरमा रामे मगर छैटौं स्थानमा छन् ।
स्थानीय प्रो सबिन सापकोटा र देवराज पाख्रीनले २–ओभर ७२ सहित संयुक्तरुपमा सातौं स्थान बाँडे । भेट्रान गल्फर दीपक मगर ३–ओभर ७३ सहित नवौं स्थानमा रहँदा धनबहादुर थापा र एमेच्योर गजेन्द्र गुरूङ संयुक्तरुपमा दशौं स्थानमा छन् । उनीहरूले ४–ओभर ७४ मा पहिलो दिनको खेल पुरा गरे ।
भारतीय गल्फ टुरमा २०२४ सिजनको लागि कार्ड जोगाएर फर्किएका शुक्रले बुधबार घरेलु कोर्स धरान गल्फ क्लबमा राम्रो सुरुवात गरे । ५–पारको तेस्रो होलमा इगलको सफलता प्राप्त गरे तर लगतै चौथो होलमा डबल बोगीको सामना गरे । यसपछि पाँचौदेखि सातौं र नवौं होलमा बर्डीको सफलता प्राप्त गर्दै फ्रन्ट नाइन ४–अन्डर ३२ मा सके । ब्याक नाइनमा उनले लय गुमाए । १३औं होलमा दिनको दोस्रो डबल बोगी खेपेका शुक्रले १२औं र १६औं होलमा एक–एक सट बचाए । तर १७औं होलको बोगीले ब्याक नाइन १–ओभर ३५ मा पुरा गरे ।
धरानका अर्का प्रो नीरज तामाङले पहिलो दिन दोस्रो स्थानमा खेल पुरा गर्ने क्रममा उत्कृष्ट सुरूवात गरे । तेस्रो, पाँचौ र नवौं होलको बर्डीले फ्रन्ट नाइन ३–अन्डर ३३ मा सके । यसपछि १४औं र १५औं होलमा लगातार दुई बोगी प्रहार गरे । १६औं होलको बर्डीले ब्याक नाइन १–ओभर ३५ मा पुरा गरे ।
एमेच्योर गल्फर युवराजले फ्रन्ट नाइन २–अन्डर ३४ मा पुरा गर्ने क्रममा तेस्रो र पाँचौ होलमा एक–एक सट बचाए । १२औं होलमा बर्डी प्रहार गरे । तर, १४औं १६औं होलको बोगीले ब्याक नाइन १–ओभर ३५ मा सके ।
अर्का एमेच्योर पदमले पहिलो, छैटौं, आठौं र नवौं होलमा बर्डी प्रहार गरे । तर, चौथो होलमा डबल बोगी र पाँचौ होलमा बोगी खेप्दा फ्रन्ट नाइन १–अन्डर ३५ मा सके । यसपछि १०औं र १८औं होलमा बर्डी प्रहार गरेका पदमले १४औं र १५औं होलमा एक–एक सट खेर फाले ।
तीन दिने ५४ होलको प्रतियोगितामा ३० प्रो र १७ एमेच्योर गल्फर गरी कुल ४७ जनाको सहभागिता छ । ३६ होलको समाप्तिमा कट लागु हुनेछ । जहाँ २१ टप प्रोफेसनल खेलाडीले अन्तिम १८ होलको लागि स्थान बनाउने छन् । यो पटकदेखि एमेच्योर खेलाडीको हकमा भने प्रोफेसनल खेलाडीको कटमा पर्नेले मात्र अन्तिम १८ होलको प्रतिस्पर्धामा सहभागिता जनाउन पाउनेछन् ।
कुल ८ लाख ४० हजार नगद पुरस्कार राशि रहेको प्रतियोगिताको विजेताले १ लाख ४० हजार, तथा दोस्रो र तेस्रो हुनेले क्रमशः ९६ हजार र ७२ हजार नगद पुरस्कार प्राप्त गर्नेछन् । साथै उत्कृष्ट २१ मा पर्न सफल प्रो गल्फरले नगद हात पार्नेछन । प्रतियोगिताको अन्तिम दिन शनिबार प्रो–एम प्रतियोगिता हुनेछ ।
पीजीए नेपालद्वारा आयोजित सूर्य नेपाल गल्फ टुर २०२३–२४ अन्तर्गत कुल आठ प्रतियोगिता हुनेछन् । जसमा कुल ६५ लाख नगद पुरस्कार छ ।