राष्ट्रिय पारा खेलकुदको तयारी
-आस्था न्यूज
माघ १०, २०८० काठमाडौं ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले राष्ट्रिय बृहत पारा खेलकुद गर्ने तयारी स्वरुप छलफल अगाडि बढाएको छ ।
राखेपका सदस्य-सचिव टंकलाल घिसिङले बुधबार सरोकारवालसंग भेट गरी छलफल गरेका हुन् ।
विश्वव्यापी रुपमा ओलम्पिक खेलकुद र एसिायली खेलकुद सम्पन्न भएको केहि सातापछि सोही स्तरको पारा खेलकुद आयोजना गर्ने चलन रहँदै आएको छ ।
नेपालमा पनि बृहत राष्ट्रिय खेलकुद सम्पन्न भएपछि पहिलोपटक बृहत राष्ट्रिय पारा खेलकुद आयोजना गर्न छलफल गरिएको हो ।
राखेपअन्तर्गत खेलकुद प्रतियोगिता तथा योजना विभागका प्रमुख मिनकुमार शर्मा, खेलकुद विकास विभागका प्रमुख सरोजकुमार पोखरेल, सरोकारवालको उपस्थितिमा भएको छलफलमा सदस्य-सचिव घिसिङले पारा राष्ट्रिय खेलकुदका लागि निर्देशिका तयार गर्न तथा खेल, खेलाडी संख्याका आधारमा खेलको स्वरुप निर्धारण गर्न निर्देशन दिए ।
सो क्रममा भएको छुट्टै प्रसंगमा चालू आ.व. मा पारा राष्ट्रिय खेलकुदसंग आबद्ध संस्थाहरुको समन्वयमा पाराको नियमित खेलकुद प्रतियोगिता भने राखेपले आयोजना गर्न सदस्य–सचिव घिसिङले निर्देशन दिए ।
पारा खेलकुदलाई राष्ट्रिय खेल संघले निधानमै अनिवार्य समावेश गरी तत्काल राष्ट्रिय संघलाई पत्रचार गर्न तथा खेल संरचना अपाङ मैत्री बनाउने सम्बन्धमा पनि सम्बन्धित विभाग र शाखालाई सदस्य–सचिव घिसिङले निर्देशन दिएका छन् ।