राष्ट्रिय सभा निर्वाचनः झण्डै ८० प्रतिशत मत खस्यो, नतिजा आजै आउने
-आस्था न्यूज
माघ ११, २०८० काठमाडौं ।
राष्ट्रिय सभाको निर्वाचनअन्तर्गत बिहीबार बिहान २ बजेसम्म ८० प्रतिशत मतदान सकिएको छ। देशका सातै प्रदेशमा बिहान ९ बजे आसपास मतदान सुरु भएको थियो।
आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार बिहानदेखि देशका सातै प्रदेशमा शान्तिपूर्ण रुपमा मतदान कार्य जारी छ।
निर्वाचन आयोगले मतदानका लागि बिहीबार दिउँसो ३ बजे सम्मको समय निर्धारण गरेको छ। ३ बजे मतदान सकिएपछि मुचुल्का उठाएर मतपेटिका संकलन गरिनेछ।
मतपेटिका संकलन सकिए लगत्तै मत गणना सुरु हुने आयोगका प्रवक्ता पौडेलले जानकारी दिए। प्रवक्ता पौडेलका अनुसार बिहीबार बेलुका ७ बजेसम्म मत गणना सकिने अपेक्षाअनुसार तयारी गरिएको छ।
२०७४ फागुनमा निर्वाचित राष्ट्रिय सभा सदस्यको पदावधि आगामी फागुन २० गते सकिन लाग्दा अर्को ६ वर्षे पदावधिका लागि १९ जना सदस्यको निर्वाचन हुन लागेको हो। अर्का १ जना सदस्य भने राष्ट्रपतिबाट मनोनित हुनेछन्।
राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि ७ वटै प्रदेशमा विभिन्न राजनीतिक दलका ५१ जना उम्मेदवारले प्रतिस्पर्धा गर्दैछन्। सत्तारुढ गठबन्धनका दलहरुले सहमतिमा उम्मेदवारी दिएका छन्। जसअनुसार नेपाली कांग्रेसका १०, नेकपा माओवादी केन्द्रका ६, नेकपा एकीकृत समाजवादीका २ र जनता समाजवादी पार्टीका १ जना उम्मेदवार छन्।
संघीय संसद्को प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले १९ वटै पदमा उम्मेदवारी दिएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टीका ७, जनमत पार्टीका २ र नेपाल मजदुर किसान पार्टीका ४ जना उम्मेदवार छन्।