राष्ट्रिय सभा निर्वाचनमा बालेनले हालेनन् भोट
-आस्था न्यूज
माघ ११, २०८० काठमाडौं ।
राष्ट्रिय सभा निर्वाचन अन्तर्गत बागमती प्रदेशको रिक्त हुने ४ सिटका लागि भएको मतदानमा ५ जना मतदाता अनुपस्थित भएका छन् ।
हेटौंडा उपमहानगरपालिका-४, स्थित भुटनदेवी माविमा भएको निर्वाचनमा बागमती प्रदेशसभाका २ र स्थानीय तहका ३ गरी ५ जना मतदाता अनुपस्थित भएका निर्वाचन अधिकृत कार्यालयले जानकारी दिएको छ ।
११० सदस्यीय बागमती प्रदेश सभातर्फ १०८ जना प्रदेश सभाका सदस्यहरुले मतदान गरेका छन् । स्थानीय तहका २३७ जना मतदातामा २३४ जनाले मतदान गरेका छन् ।
दोलखाको गौरीशंकर गाउँपालिका उपाध्यक्षको निधन भएकाले स्थानीय तहका प्रमुख र उपप्रमुख गरी २३८ मतदाता हुनुपर्नेमा २३७ मतदाता कायम थिए । २३७ मतदातामध्ये नुवाकोटको किस्पाङ गाउँपालिकाको अध्यक्ष बिरबल तामाङ प्रहरीको फरार सूचिमा रहेकाले अनुपस्थित भएका छन् । उनलाई चेक अनादर मुद्दामा फरार छन् ।
यसैगरी, काभ्रेको चौरीदेउराली गाँउपालिकाको उपाध्यक्ष शेरबहादुर लामा सिकिस्त बिरामी रहेकाले मतदानमा सहभागी भएनन् । काठमाडौ महानगरपालिकाको मेयर बालेन शाह पनि मतदान गर्न हेटौंडा आएनन् ।
बागमती प्रदेश सभातर्फ हाम्रो नेपाली पार्टीका सांसद शैलेन्द्रमान बज्राचार्य र सरिता खड्की अनुपस्थित भएका छन् ।