‘समुदायमा कांग्रेस’ अभियानमा केन्द्रीय प्रतिनिधि परिचालन
-आस्था न्यूज
माघ ११, २०८० काठमाडौं ।
नेपाली कांग्रेसले यही माघ १३ देखि माघ २६ गतेसम्म सञ्चालनको घोषणा गरेको ‘समुदायमा कांग्रेस’ अभियानमा केन्द्रीय प्रतिनिधि परिचालित हुने भएका छन् ।
समुदायमा पुगेर जनताका अपेक्षा, सुझाव र गुनासा सुन्ने, स्थानीयस्तरमा सेवा प्रवाहको अवस्था, विकास निर्माण र समुदायमा भएका असल अभ्यासको अवलोकन गर्न अभियान सञ्चालन गर्न लागेको पार्टीको केन्द्रीय कार्यालयका सचिव कृष्णप्रसाद पौडेलले बताएका छन् ।
बुधबार प्रेस विज्ञप्ति जारी गर्दै उनले जनताबाट आएका सुझावलाई कार्यान्वयनका लागि पहलकदमी लिने तथा महासमिति वैठक लगायत पार्टीको नीति निर्माणका क्रममा नीतिगत मार्गदर्शनको रुपमा लिने उद्देश्य अभियान सञ्चालन गर्न लागिएको जनाएका छन् ।
उनका अनुसार अभियानका लागि प्रत्येक जिल्लामा केन्द्रीय प्रतिनिधि परिचालन गरिएको छ । ‘अभियानका लागि जिल्लास्तरमा केन्द्रीय प्रतिनिधि खटिइसक्नुभएको छ भने केन्द्रीय प्रतिनिधिसँग समन्वय गरी जिल्ला कार्यसमितिबाट माघ १५ गतेसम्ममा सवै ६ हजार ७ सय ४३ वटै वडामा प्रतिनिधिहरू खटिनु हुनेछ । केन्द्रीय पदाधिकारीहरू अभियानमा विभिन्न स्थानमा सहभागी हुनु हुनेछ । यो अभियान मूलतः वडा केन्द्रित रहनेछ । जनताका कुरा सुन्ने अभियान भएको हुँदा औपचारिक आसन ग्रहण र मन्तव्य लगायतका कार्यक्रमहरू रहने छैनन्,’ जारी विज्ञप्तिमा उल्लेख छ ।
माघ १६ गते शहिद दिवसको दिन विशेष कार्यक्रमसहित अभियानको पहिलो चरण प्रारम्भ हुने उनले बताएका छन् । सहिद दिवसका दिन ६ हजार ७ सय ४३ वडामा कार्यक्रम गरि सुरु गरिने १३ दिने अभियान माघ २६ गते पूर्वप्रधानमन्त्री सुशील कोइरालाको स्मृति दिवसका दिन समापन हुने छ ।
कांग्रेसले उक्त अभियानलाई सफल र प्रभावकारी बनाउन पार्टीमा क्रियाशील सदस्यहरुलाई आग्रह गरिएको छ ।