जाजरकोट भूकम्पमा अभिभावकविहीन ३० बालबालिका मामाघर आश्रममा
-आस्था न्यूज
माघ ११, २०८० काठमाडौं ।
जाजरकोटलाई केन्द्रविन्दु बनाएर आएको भूकम्पमा अभिभावक गुमाएका ३० बालबालिकालाई ललितपुरको मामाघर अनाथालय सपोर्ट एन्ड केयरमा ल्याइएको छ ।
जाजरकोटको कुशे गाउँपालिका र बारेकोट गाउँपालिकाको सिफारिसमा बिहीबार ललितपुरको बाडेगाउँस्थित अनाथालयले उनीहरुको जिम्मा लिएको हो ।
उनीहरुलाई ललितपुर ल्याउने व्यवस्था बालयोगेश्वर विजयमूर्ति महाराजले मिलाएका हुन् । चार जनाको समूहमा करिब १० दिनको कठिन यात्रापछि प्रक्रिया पुरा गर्दै ३० जना बालबालिकाको लालनपालनको जिम्मा अनाथालयलाई लगाएको जानकारी उनले दिए ।
उनले भने, ‘अभिभावक गुमाएका बालबालिकाहरुका बारेमा हामीले समाचारबाट थाहा पायौं । भोजन, बासको अभावबाट धेरैले अकालमा ज्यान गुमाउनुप¥यो भन्ने थाहा पाउँदा हामीलाई असहनीय भयो । चार जनाको समूहमा ८–१० दिनको कठिन यात्रापश्चात सबैको साथ सहयोग र समन्वयमार्फत ३० जना बालबालिकाहरु जिम्मा लिने प्रक्रियाहरु पुरा गरेर हामीले ल्याएका छौं ।’
आश्रममा कुशे गाउँपालिकाको सिफारिसमा १७ र बारेकोट गाउँपालिकाको सिफारिसमा १३ जना बालबालिका ल्याइएको हो । यसमा २० बालक र १० जना बालिका छन् । यिनमा अधिकांश बालबालिका दलित समुदायका छन् ।
गत कात्तिक १७ गते जाजरकोट केन्द्रविन्दु भइ आएको ६.४ म्याग्निच्युडको भूकम्पमा परि १५७ जनाको मृत्यु भएको थियो भने ३७५ जना घाइते भएका थिए । घटनामा जाजरकोट र रुकुम पश्चिममा घरहरुमा क्षति पुगेको थियो । भूकम्पले घरबारविहीन भएका परिवारमा ज्वरो, झाडापखाला र चिसोले थप ३४ जनाको मृत्यु भएको थियो ।