Trending :
 

राष्ट्रसंघका प्रतिनिधिसँग प्रधानमन्त्रीको भेटःनेपाल सदैव विश्व शान्तिको पक्षमा रहेको जानकारी

माघ १२,२०८०

-आस्था न्यूज

माघ १२, २०८० काठमाडौं ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्व शान्तिका लागि द्वन्द्वरत पक्षहरुबीच  संवादमा जोड दिएका छन्। संयुक्त राष्ट्रसंघको निशस्त्रीकरण मामिलासम्बन्धी उच्चस्तरीय प्रतिनिधिमण्डलसँगको भेटका क्रममा प्रधानमन्त्री प्रचण्डले नेपाल सदैव विश्व शान्तिको पक्षमा रहेको बताए। 
 
निशस्त्रीककरण मामिलासम्बन्धी संयुक्त राष्ट्रसंघको निकाय युएनओडीएका तर्फबाट उच्चस्तरीय प्रतिनिधिमण्डलको नेतृत्व गरेकी इजुमी नाकामित्सु सहितको टोलीसँग भेटवार्ताका क्रममा प्रधानमन्त्री प्रचण्डले नेपालको शान्ति प्रक्रियाको उदाहरणीय रहेको बताउँदै विश्व शान्तिका लागि संवाद एकमात्र विकल्प भएकोमा जोड दिए। 
 
‘नेपालको ऐतिहासिक शान्ति प्रक्रिया विश्वका मुलुकहरुका लागि उदाहरण बनेको छ,’ प्रधानमन्त्रीले भने, ‘अहिले विश्वका कैयन् क्षेत्र अत्यन्तै संवेदनशील अवस्थामा रहेका छन्। रुस–युक्रेन युद्ध, इजरायल–हमास द्वन्द्व, लगायतका घटनाले विश्व शान्तिमा चुनौती थपेका छन्। तर हामी वार्ता र संवादका माध्यमबाट समाधान खोज्नुपर्नेमा जोड दिन चाहन्छौँ।’
 
प्रधानमन्त्री प्रचण्डले बुद्ध जन्मेको भूमि र शान्तिप्रिय देश नेपालले विश्वमा शान्ति स्थापनाका लागि विभिन्न अन्तर्राष्ट्रिय मञ्चहरुमा उल्लेख्य भूमिका खेल्दै आएको समेत स्मरण गराए।
 
भेटवार्ताका क्रममा प्रधानमन्त्री प्रचण्डले संयुक्तराष्ट्रसंघको महासभामा अति कम विकसित देशहरुको नेतृत्वकर्ताको हैसियतले खेलेको भूमिकाका बारेमा समेत चर्चा गर्दै शान्ति स्थापनाका लागि संयुक्त राष्ट्रसंघका प्रयासहरुमा सदैव साथ दिने र नेपालले विश्व शान्तिका लागि नेतृत्वदायी भूमिका खेल्ने बताए। ‘विश्व शान्ति तथा निसस्त्रीकरणका पक्षमा संयुक्त राष्ट्रसंघले खेलेको भूमिका प्रशंसनीय छ,’ प्रधानमन्त्रीले भने, ‘हामी संयुक्त राष्ट्रसंघका हरेक कदममा साथ छौं र भविष्यमा पनि साथ रहने प्रतिबद्धता व्यक्त गर्दछौँ।’