बलिउड: ‘रेम्बो’का लागि धनुष-बाण सिक्दै टाइगर
-आस्था न्यूज
माघ १२, २०८० काठमाडौं ।
बलिउडका एक्सन हिरोका रुपमा परिचित अभिनेता टाइगर श्राफका लागि सन् २०२४ निकै फलदायी हुने देखिएका छ ।
किनकी उनी एकपछि अर्को गर्दै तीन फिल्ममा आफ्नो मनपर्ने एक्सन अवतारमा देखिँदैछन् ।
उनी अभिनेता अक्षय कुमारका साथ एक्सनपूर्ण फिल्म ‘बडे मियाँ छोटे मियाँ’मा देखिँदैछन् ।
यसपछि उनी अर्को फिल्म ‘रेम्बो’को तयारीमा जुट्नेछन् । ‘पठान’ र ‘फाइटर’ निर्देशक सिद्धार्थ आनन्दको प्रोडक्सन हाउसमा बन्ने यो फिल्ममा उनी शीर्ष भूमिकामा देखिँदैछन् ।
फिल्मका लागि टाइगरले नियमित प्रशिक्षण लिइरहेका छन् । टाइगरका अनुसार फिल्मका लागि उनले धनुष–बाण चलाउन सिकिरहेका छन् ।
‘शारीरिक रुपले यो फिल्मका लागि म अहिले जस्तो छ, त्यो भन्दा बढी फिट देखिनुपर्नेछ । यो फिल्मका लागि म धनुष–बाण चलाउन सिकिरहेको छु किनकी यो रेम्बोको प्रतिष्ठित हतियार थियो । म निर्माता र निर्देशक सिद्धार्थ आनन्दका साथ धेरै पढ्ने काम पनि गरिरहेको छु । यो फिल्मका लागि मैले निकै दबाब महशुस गरिरहेको छु’, उनले भनेका छन् ।
टाइगर यी दुई फिल्मका अलावा यो वर्ष रोहित शेट्टीको फिल्म ‘सिंघम अगेन’मा पनि देखिँदैछन् । उनी यो फिल्ममा एसीपी सत्याको भूमिकामा छन् ।