नेपालमा कबड्डीको फ्रेन्चाइज लिग आयोजना गर्न सम्झौता
-आस्था न्यूज
माघ १२, २०८० काठमाडौं ।
अखिल नेपाल कबड्डी संघले नेपालमा कबड्डीको पहिलो फ्रेन्चाइज आधारित कबड्डी लिग र भारतपछि विश्वमा कबड्डीको दोस्रो लिग आयोजना गर्नको लागि एस्ट्रियोनिकस इभेन्ट मेयानेजमेन्टसँग सम्झौता गरेको छ ।
आज पत्रकार सम्मेलनको आयोजना गर्दै कबड्डी लिगको लागि सम्झौतामा हस्ताक्षर गरिएको हो ।
संघका महासचिव अरविन्दकुमार झाले यो सम्झौताले खेलकुद क्षेत्रलाई एक महत्वपूर्ण उपलब्धि दिने भन्दै यसले कबड्डी क्षेत्रलाई अग्रपंक्तिमा पुर्याउने बताए ।
उनले यस कदमले कबड्डीको विकासमामात्रै नभएर खेलाडीहरू, प्रशंसकहरू र सरोकालवाला सबैको अनुभव बृद्धि गर्नका लागि पनि ठूलो भूमिका राख्ने बताए ।
१९औ एसियन खेलमा पदक लिएर कबड्डीको मात्र नभएर देशकै नाम उच्च राख्न सफल कबड्डी खेलले यो लिग आयोजनापछि ठूलो सफलताका लागि अघि बढ्ने हौसला हुने उनले बताए ।
फुटबल र क्रिकेटमा फ्रेन्चाइज लिगहरूको अत्याधिक सफलता र लोकप्रियता देखेपछि त्यस्तै उत्साहलाई कबड्डी खेलमा पनि ल्याउनु अखिल नेपालकबड्डी संघको लक्ष्य रहेको जनाइएको छ ।
संघका अध्यक्ष तुलसी थापाले खेलकुदको संसारमा एउटा महत्वपूर्ण फड्को मार्ने नेपाल कबड्डी लिगको अनावरण गर्न पाउँदा हर्षित भएको भन्दै एस्ट्रियोनिक्स इभेन्ट म्यानेजमेन्टसँगको साझेदारीले नेपालमा कबड्डीको नयाँ युगको सुरुवात गरेको बताइन् ।