Trending :
 

आईसीसी यू-१९ विश्वकप क्रिकेटमा नेपाल सुपर सिक्समा प्रवेश

माघ १३,२०८०

-आस्था न्यूज

माघ १३, २०८० काठमाडौं ।
नेपाल आईसीसी यू–१९ विश्वकप क्रिकेटको सुपर सिक्समा प्रवेश गरेको छ। समूह चरणको अन्तिम खेलमा नेपालले अफगानिस्तानलाई १ विकेटले पराजित गर्दै सुपर सिक्समा स्थान पक्का गरेको हो।
 
अफगानिस्तानले  दिएको १४६ रनको लक्ष्य नेपालले ९ विकेटको क्षतिमा ४४.४ ओभरमा पूरा गरेको हो।
 
नेपालको जितमा कप्तान देव खनालले ५८ रनको योगदान दिए। उनले विकेट किपर नुमन साहबाट क्याच आउट हुनुअघि ७ चौका प्रहार गर्दै ५८ रन जोडे।
 
नेपालका अर्का ब्याटर दीपक बोहराले २७ रन बनाए। ४ चौका प्रहार गरेका दीपकले ४२ बलको सामना गरेका थिए। नेपालले ओपनर अर्जुन कुमाललाई १०, तेस्रो नम्बरका गुलशन झालाई १ र विपिन रावललाई २ रनमा गुमाएको थियो ।
 
नेपालले अफगानिस्तानलाई ४०.१ ओभरमा अल आउट गरेको थियो। नेपालका तर्फबाट आकाश चन्दले अफगानिस्तानका महत्वपूर्ण पाँच विकेट लिए। यसैगरी दिपेश कँडेलले २, गुल्सन झा तथा तिलक भण्डारीले १-१ विकेट लिएका थिए।
 
टस जितेको अफगानिस्तानले पहिले ब्याटिङ गर्ने निर्णय गरेको थियो। 
 
यसअघिका २ खेलमा हार बेहोरेको नेपाल अफगानिस्तानलाई हराउँदै नेपाल समूह डी बाट तेस्रो स्थानमा रहँदै सुपर सिक्समा पुगेको हो । अब सुपर(६ मा नेपालले समूह ए का भारत, बंगालदेश र आयरल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ। 
 
नेपाल समूह चरणको पहिलो खेलमा न्यूजिल्याण्डसँग ६४ रन र दोस्रो खेलमा पाकिस्तानसँग ५ विकेटले पराजित भएको थियो।