राजधानीमा दोस्रो ‘जूनकीरी गजल साँझ’
-आस्था न्यूज
माघ १४, २०८० काडमाडौं ।
पुस्तकालय सहयोगार्थ जूनकीरी अविश्रान्त उज्यालोले दोस्रो जूनकीरी गजल साँझ आयोजना गरेको छ । काठमाडौंको शिल्पी थिएटरमा शनिबार गजल वाचन कार्यक्रम गरिएको हो ।
गजलकारहरू बाबु त्रिपाठी, सुमन स्मारिका र रूपक वनवासीले दर्शकलाई आआफ्ना रचना सुनाए । सर्जकहरूले गजलका माध्यमबाट दुःख, सुख, हाँसो, रोदन र पीडा र खुसीका भाव व्यक्त गरे । उनीहरुले सृजनाका माध्यमबाट देश, समाज र मान्छेको जीवनका आरोह अवरोहमाथि आफ्ना भावना अभिव्यक्त गरे ।
तीन चरणमा भएको गजल साँझमा सहयोगी संघसंस्थाहरूलाई सम्मान गरिएको थियो । कार्यक्रमबाट प्राप्त पुस्तक तथा आर्थिक सहयोगहरू रूकुम पूर्वको भूकम्प प्रभावित क्षेत्रमा पुस्तकालय निर्माणार्थ प्रयोग गरिने संस्थाका सचिव सुवर्ण गौतमले बताए ।
जूनकीरी अविश्रान्त उज्यालो समाज विभिन्न क्षेत्रका व्यक्तिहरूलाई सहयोग गर्दै आएको संस्था हो । जूनकीरीले विभिन्न समयमा सामाजिक, आर्थिक तथा सहयोगी कामहरू गरेको जानकारी गौतमले दिए ।