मानव तस्करीमा संलग्न आरोप लागेका अध्यागमनका ७ कर्मचारी डेढ महिनादेखि फरार
-आस्था न्यूज
माघ १४, २०८० काठमाडौं ।
नक्कली कागजात बनाएर भिजिट भिसामा हुने मानव तस्करीमा संलग्न भएको आरोप लागेका अध्यागमन विभागका ७ जना कर्मचारी नै डेढ महिनादेखि फरार भएको खुलेको छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमनका अधिकृत नरवीर खड्का पक्राउ परेपछि बाँकी ७ जना अध्यागमनका कर्मचारी फरार भएका खुलेको हो। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले अध्यागमन अधिकृत नरवीर खड्कालाई मंसिर २६ गते घुस लिँदै गरको बेला रंगेहात पक्राउ गरेको थियो। भिजिट भिसामा सेटिङ मिलाए बापत लिएको २ लाख रुपैयाँ लिँदै गरेको अवस्थामा प्रहरीले उनलाई पक्राउ गरेको थियो।
खड्का पक्राउ परेपछि नै अध्यागमनका ७ जना कर्मचारीहरु फरार भएको प्रहरी स्रोतले जानकारी दियो। फरार हुनेहरुमा कुशल बराल, शैलेन्द्र ढकाल, विमल पौडेल, विष्णु अर्याल, विकास डंगोल, पीताम्बर रिमाल र सुजन फागो रहेका अपराध अनुसन्धान कार्यालय स्रोतले जानकारी दियो।
खड्का पक्राउ परेपछि उनीहरुको संलग्नता खुलेको थियो। त्यसपछि प्रहरीले उनीहरुमाथि अनुसन्धान अगाडि बढाउँदा खड्का पक्राउ परेपछि नै उनीहरु कार्यालय नै नआइ सम्पर्कविहीन भएर फरार भएका प्रहरी स्रोतले बतायो।
उनीहरु फरार भएको १ महिनाभन्दा बढी समयपछि माघ ९ गते बल्ल पक्राउ पुर्जी जारी भएको छ। तर उनीहरु भने डेढ महिनादेखि नै कार्यालयमा गयल हाजिर भइ फरार भएका छन्। नेपाल लाइभबाट