‘युएनआरडब्ल्युए’लाई अमेरिकासहित ६ देशले रोके आर्थिक सहयोग
-आस्था न्यूज
माघ १४, २०८० काठमाडौं ।
इजरायल–हमास युद्धका बीच अमेरिकासहित ६ देशले संयुक्त राष्ट्रसंघको एउटा एजेन्सीलाई आर्थिक सहयोग रोकेका छन् ।
इजरायलले युएनआरडब्ल्युए संस्थाका १२ कर्मचारीलाई अक्टोबर ७ को आक्रमणमा हमास आतङ्ककारीसँग संलग्न भएको आरोप लगाएको थियो। त्यसपछि एजेन्सीले सबैलाई बर्खास्त गरेको थियो ।
युएनआरडब्ल्युए प्रमुख फिलिप लाजारिनीले एजेन्सीको प्रतिष्ठा जोगाउन सबैलाई बर्खास्त गर्ने निर्णय गरिएको बताए । यो एजेन्सी १९४८ मा स्थापना गरिएको थियो ।
हाल यो एजेन्सीले गाजा, वेस्ट बैंक, सिरिया, जोर्डन र लेबनानका ६० लाख मानिसहरूलाई सहयोग गरिरहेको जनाएको छ । यसको उद्देश्य आम नागरिकहरूलाई राहत सामग्री उपलब्ध गराउनु र उनीहरूलाई मद्दत गर्नु हो ।
हालसम्म अमेरिका, बेलायत, फिनल्याण्ड, क्यानडा, अष्ट्रेलिया र इटालीले युएनआरडब्ल्युएलाई आर्थिक सहयोग रोक्ने घोषणा गरिसकेका छन् ।