Trending :
 

तीनै तहमा भइरहेको शान्ति सुरक्षाका विषयमा बृहत छलफल

माघ १४,२०८०

-आस्था न्यूज

माघ १४, २०८० काठमाडौं ।
मुलुकको शान्ति सुरक्षा थप मजवुद बनाउन तीन तहका मन्त्रीहरुबिच छलफल भएको छ ।  गृहमन्त्री नारायणकाजी श्रेष्ठको अध्यक्षतामा बसेको विषयगत समितिको बैठकले तीन तहमा भइरहेको शान्ति सुरक्षाका विषयमा बृहत छलफल भएको हो ।
 
संघ, प्रदेश र स्थानीय तह समन्वय तथा अन्तर सम्बन्ध ऐन २०७७ को दफा २२ बमोजिम बसेको बैठकमा सबै प्रदेशका आन्तरिक मामिला तथा गृह प्रशासन हेर्ने मन्त्रीहरुको सहभागिता थियो । 
 
बैठकले प्रहरी समायोजना ऐन, नेपाल प्रहरी र प्रदेश प्रहरीको कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय गर्ने ऐन परिमार्जन गर्ने निर्णय गरेको गृह मन्त्रालयका सह सचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए । 
 
उनले मुलुकको शान्ति सुरक्षा थप मजबुत बनाउनका लागि संघीय गृह मन्त्रालय र प्रदेशमा सम्मिलित मन्त्रालयहरुले थप सहकार्य गर्ने, प्रदेश सरकारहरु बिचको सहकार्यलाई थप बलियो बनाउने र प्रहरी समायोजनलाई छिटो अगाडि बढाउने जस्ता निर्णय भएको पनि जानकारी दिए । 
 
उनले भने, ‘प्रहरी समायोजना ऐन, नेपाल प्रहरी र प्रदेश प्रहरीको कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय गर्ने ऐन परिमार्जन गर्ने, नेपाल प्रहरी ऐन र स्थानीय प्रशासन ऐन तर्जुमाको चरणमा छ यसलाई छिटो अगाडि बढाउने, मुलुकको शान्ति सुरक्षाको अवस्थाका बारेमा छलफल गरेर समीक्षा गर्दै थप मजबुत बनाउनको लागि संघीय गृहमन्त्रालय र प्रदेशका सम्मिलित मन्त्रालयहरुले थप सहकार्य गर्ने, गृह र प्रदेश सरकारहरुको बिचको सहकार्यलाई थप बलियो बनाउने, प्रहरी समायोजनलाई छिटो अगाडि बढाउने विषयमा छलफल भएको छ ।’