Trending :
 

सहकारी ठगी प्रकरणः जीबी राईसहित अन्य तीन जनाविरुद्ध पनि ‘डिफ्युजन’ नोटिस जारी

माघ १४,२०८०

-आस्था न्यूज

माघ १४, २०८० काठमाडौं ।
प्रहरीले पोखरा–४ नालाकोमुखस्थित सूर्यदर्शन सहकारीका संस्थापक अध्यक्ष गीतेन्द्रबाबु (जीबी) राईसहित तीन जनाविरुद्ध ‘डिफ्युजन’ नोटिस जारी गरेको छ ।
 
अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) मार्फत मुख्य प्रतिवादी राईसहित भूपेन्द्र राई र थानबहादुर बूढामगरविरुद्ध समेत ‘डिफ्युजन’ नोटिस जारी गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले आइतबार जनाएको छ । 
 
सूर्यदर्शन सहकारीमार्फत ठगी गरेको आरोपमा १९ जनाविरुद्धको मुद्दा जिल्ला अदालत पोखरामा दर्ता गरिएको छ । 
 
सहकारीका कोषाध्यक्ष कुमार रम्तेलसहितका व्यक्ति पनि पक्राउ परिसकेका छन् । जीबी राई ग्यालेक्सी फोर–के टेलिभिजनका सञ्चालक समेत हुन् । 
 
कास्कीमा मात्रै १९ हजार जनाभन्दा बढी बचतकर्ताको १ अर्ब ३५ करोड रुपैयाँ भन्दा बढी रकम हिनामिना गरेको आरोप उनीहरुमाथि छ । 
 
रकम हिनामिना प्रकरणमा उनीहरुमाथि सहकारी ऐन र मुलुकी अपराध संहिताको ठगीसम्बन्धी कसुरमा मुद्दा चलाइएको छ ।