Trending :
 

डिजल खपत गरिरहेका उद्योगहरुमा सोलार प्रयोग गर्न पहल

माघ १४,२०८०

-आस्था न्यूज

माघ १४, २०८० काठमाडौं ।
डिजल खपत गरिरहेका उद्योगहरुमा सोलार रुफटप प्रविधि जडान गरी कार्बन उत्सर्जनमा कमी ल्याउने पहल थालिएको छ । यसका लागि उद्योगी–व्यवसायीहरु र सरोकारवालाहरुबीच छलफल गरिएको छ ।
नेपाल सरकारको ऊर्जा, जलस्रोत तथ सिंचाई मन्त्रालयअन्तर्गत वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र आयोजना, उद्योग संगठन मोरङ र जर्मन सहयोग नियोगको समन्वयमा छलफल गरिएको हो ।
 
कार्यक्रममा उद्योग संगठन मोरङका अध्यक्ष राकेश सुरानाले सौर्य ऊर्जा उद्योगहरुका लागि सस्तो वैकल्पिक ऊर्जा भएको वताए । उनले पर्याप्त विद्युत उपलब्ध नभइरहेको अवस्थामा सौर्य ऊर्जाको उपलब्धता उद्योग सञ्चालनका लागि उत्तम विकल्प हुने बताए ।
 
यसको प्रँविधिक पक्षलाई विश्लेषण गरी जडान गर्नुपर्ने धारणा सुरानाले राखे । विश्वव्यापी रुपमा भइरहेको वातावरणीय प्रदुषण र त्यसबाट मानव स्वास्थ्यमा परेको नकारात्मक प्रभाव न्यूनीकरणमा समेत सौर्य ऊर्जा उपयोगी भएकाले यसको प्रयोगलाई सरकारले समेत प्रवर्द्धन गर्नुपर्नेमा उनले जोड दिए । 
 
वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रका सौर्य ऊर्जा संयोजक निरज सापकोटाले नेपाल र जर्मन सरकारको सहयोगमा सञ्चालित परियोजनाको प्रमुख उद्देश्य सौर्य ऊर्जाको प्रवर्द्धनका माध्यमबाट कार्वन उत्सर्जनमा कमी ल्याउनु रहेको बताए । 
 
उनले यो प्रविधि उद्योग स्वयंले आफ्नै खर्चमा जडान गर्नसक्ने वा अन्य पक्ष्ँ मार्फत जडान गराई आफूलाई आवश्यक ऊर्जा किनेर उपयोग गर्न सक्ने जानकारी गराए । 
 
परियोजनाका डेपुटी टिम लिडर खेमराज भण्डारीले यसको प्राविधिक र आर्थिक पक्ष्ँका विषयमा जानकारी दिँदै सौर्य उर्जाको प्रयोगबाट उद्योगहरुले डिजल खपत घटाउन सक्ने वताए । उनले यस प्रविधिबाट गुणस्तरीय विद्युत उपलब्ध हुनुका साथै प्रति युनिट दर सस्तो पर्न जाने भएकाले उद्योगको खर्च न्यूनिकरणमा समेत सहयोगी हुने बताए । 
 
परियोजनाको वातावरणीय र सामाजिकविज्ञ अनुसुया जोशीले सौर्य ऊर्जा वातावरणीय दृष्टिकोणले उपयुक्त हुने धारणा राखिन् । एक मेगावाट भन्दा माथिको सौर्य ऊर्जा जडान गर्दा वातावरणीय प्रभाव मूल्यांकन गर्नुपर्ने आवश्यकता औँल्याउदै उनले आर्थिक पक्षबाट यो प्रविधि उपयुक्त भएको बताइन् । 
 
कार्यक्रममा मोरङ व्यापार संघ, घरेलु तथा साना उद्योग महासंघ मोरङका प्रतिनिधिहरु र विभिन्न उद्योग प्रतिष्ठानका सञ्चालक तथा व्यवस्थापकहरुको सहभागिता थियो ।