Trending :
 

आहा रारा पोखरा गोल्डकपः संकटालाई हराउदै आर्मी सेमीफाइनलमा

माघ १४,२०८०

-आस्था न्यूज

माघ १४, २०८० काठमाडौं ।
डिफेन्डिङ च्याम्पियन संकटा फुटबल क्लबलाई पराजित गर्दै त्रिभुवन  आर्मी क्लव २३ औं सस्करणको आहा रारा पोखरा गोल्डकपको अन्तिम चारमा प्रवेश गरेको छ ।
 
पोखरा रंगशालामा जारी प्रतियोगितामा आइतबार ३-० को गोल अन्तरले संकटालाई पराजित गर्दै आर्मी सेमीफाइनलमा पुगेको हो । आर्मीको जितमा लागि दिनेश हेमजङ र जिलेप्सीजंग कार्कीले गोल गरेका थिए ।
 
जिलेप्सीजंगले पहिलो हाफको अन्तिममा पहिलो गोल गर्दै आर्मीका लागि खाता खोलेका हुन् । ४५ औं मिनेटमा कप्तान भरत खवासले दायाँ साइडबाट दिएको क्रसलाई हेडमार्फत गोल गर्न सफल भए ।
 
त्यस्तै खेलको ४९ औं  मिनेटमा दिनेशले टिमका लागि दोस्रो गोल गरे । उनको बल रोक्ने प्रयासमा संकटाका खेलाडी कुलदिप कार्कीले ह्याण्ड गरेपछि आर्मीले पेनाल्टीको अवसर पाएको थियो । उक्त पेनाल्टीलाई दिनेशले गोलको रुपमा परिणत गर्दै खेल २-० मा पु¥याए । त्यस्तै खेलको ७६ औं मिनेटमा जिलेप्सीजंगको पासमा दिनेशले टिमका लागि तेस्रो र व्यक्तिगत दोस्रो गोल गर्दै टिमलाई सहज रुपमा सेमीफाइनलको यात्रा तय गराए ।
 
आहा रारा गोल्डकपको इतिहासमा नेपाल आर्मी तीन पटक उपाधि नजिक पुगेको छ । तर, उपाधि जित्न भने पाएको छैन । प्रतियोगिताको सातौं, आठौं र १७ औं संस्करणमा आर्मी तीन पटक उपाधि नजिक पुगेको छ । त्यस्तै ११ औं र १८ औं संस्करणमा आर्मीले अन्तिम चारको यात्रा तय गरेको छ ।
 
२३ औं संस्करणमा नवप्रवेशी टिम राइजिङ स्टार क्लबलाई पराजित गर्दै क्वाटरफाइनलको यात्रा तय गरेको आर्मीले अब सेमीफाइनलमा चर्च ब्वाइज र एपीएफ क्लबबीच हुने खेलका विजेतासँग माघ १८ गते खेल्नेछ ।
 
तस्बिर सौजन्य: सुदर्शन रञ्जित