देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ४ जनाको मृत्यु
-आस्था न्यूज
माघ १५, २०८० काठमाडौं ।
देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा चार जनाको मृत्यो भएको छ । बाँकेको नेपालगंज उपमहानगरपालिका १८ स्थित सडकमा भे.१ ख १६९७ नम्बरको माइक्रोबसले लु.१ ब २९३६ नम्बरको मोटरसाइकललाई आइतबार दिउँसो ठक्कर दिँदा मोटरसाइकलमा सवार बर्दिया मधुवन नगरपालिका ८ घर भई जिल्ला प्रहरी कार्यालय बाँकेमा कार्यरत प्रहरी जवान विकास डाँगीको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको नर्सिङ होम नेपालगन्जमा उपचारको क्रममा मृत्यु भएको हो । माईक्रोबस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ
उता सुर्खेतको गुर्भाकोट नगरपालिका ७ मेहलकुनास्थित सडकमा भे १ ह ४७०० नम्बरको अटो अनियन्त्रित भई आइतबार दिउँसो दुर्घटना हुँदा अटोमा सवार सोही ठाउँ बस्ने ५० वर्षीया भिमी कामीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनको मेहलकुना अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका अटोमा सवार २ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । अटो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
त्यस्तै तनहुँको आँबुखैरेनी गाउँपालिका २ ढापटारस्थित सडकमा ग.१ क ५०१२ नम्बरको मिनी ट्रक र प्र.३-०२-००९ प ८५३० नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई आइतबार राति दुर्घटना हुँदा मोटरसाइकल चालक सोही गाउँपालिका(३ बस्ने २६ वर्षीय सफल राना मगरको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको आँबुखैरेनी अस्पताल हुँदै पुरानो मेडिकल कलेज भरतपुर चितवनमा थप उपचारको क्रममा मृत्यु भएको हो । मिनी ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यता कपिलवस्तुको वाणगंगा नगरपालिका-७ मोतिपुरस्थित सडकमा लु.२ च ७३८७ नम्बरको बलेरो पिकअप अनियन्त्रित भई आइतबार राति दुर्घटना हुँदा चालक सोही नगरपालिका-४ गजेडा बस्ने ४५ वर्षीय रूदनाथ रौताहारको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।