Trending :
 

मिटरब्याज पीडितले झापा-कञ्चनपुर-काठमाडौं पदयात्रा गर्ने

माघ १५,२०८०

-आस्था न्यूज

माघ १५, २०८० काठमाडौं । 
मिटरब्याज पीडितहरुको एक समूहले झापा र कञ्चनपुरदेखि काठमाडौंसम्म पदयात्रा गर्ने भएका छन् ।
 
मिटरब्याज र ठगीविरुद्ध किसान मजदुर संघर्ष समितिको अगुवाइमा मिटरब्याज पीडितहरुले १६ माघदेखि झापा र कञ्चनपुरबाट काठमाडौंतर्फ पैदलयात्रा सुरु गर्न लागेका हुन् ।
 
झापा र कञ्चनपुरबाट सुरु हुने पदयात्रा चितवनमा भेट भई त्यहाँबाट काठमाडौंतर्फ पदयात्रा गरिने संघर्ष समितिका  संयोजक अवधेश कुशवाहले जानकारी दिए । मिटरब्याज पीडितहरुले यसलाई मिटरब्याजविरुद्ध न्याय मार्च नाम दिएका छन् ।
 
गाउँघरमा साहु महाजनबाट ऋण लिएका सर्वसाधारणसँग साहु महाजनले चर्को ब्याज लिने, ऋण लिएको भन्दा बढी रकम लिएको भनेर असुल्ने जस्ता समस्यालाई मिटरब्याज भन्ने गरिएको छ । सरकारले यसलाई अनुचित लेनदेन नामकरण गर्दै यसलाई समाधान गर्न कानुनसमेत बनाएको छ ।
 
मिटरब्याज समस्या समाधान गर्न भन्दै सरकारले २०७९ चैत २० गते गौरीबहादुर कार्की नेतृत्वमा जाँचबुझ आयोगसमेत बनाएको थियो । जाँचबुझ आयोगले मधेशको जनकपुरधाममा कार्यालय राखी मिटरब्याज पीडितहरुबाट उजुरीसमेत लिएको थियो । उक्त समितिले काम सकेर प्रतिवेदनसमेत सरकारलाई बुझाइसकेको छ ।
 
तर आफूहरुको माग अझै पूरा नभएको भन्दै मिटरब्याज पीडित न्याय माग्दै काठमाडौं आउन लागेका हुन् ।