स्वास्थ्य बिमा गरेको सेवाग्राहीले सुविधा नपाएपछि जनप्रतिनिधिद्वारा अनुगमन

माघ १५,२०८०

-आस्था न्यूज

माघ १५, २०८० काठमाडौं । 
अस्पतालमा सञ्चालित औषधि पसलबाट स्वास्थ्य बिमा गरेका सेवाग्राहीले सुविधा नपाएको गुनासो बढेपछि जनप्रतिनिधिले अनुमगन गरेका छन् ।
 
विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला कोशी अस्पतालभित्र सञ्चालित औषधि पसलको अनुगमन गरेका हुन् ।
 
अस्पतालभित्र सञ्चालित औषधि पसलमा स्वास्थ्य बिमाको सुविधाबाट औषधि नपाउने गरेको व्यापक गुनासो आएपछि उपमेयर शिल्पा निराला कार्कीसहितको टोली पुगेर अनुगमन गरिएको हो ।
 
अनुगमन टोलीले स्वास्थ्य बिमा सुविधामा उल्लेख भएअनुसारका औषधि पसलमा भए नभएको बुझेको थियो ।
 
जनताको सुविधाका लागि नेपाल सरकारले स्वास्थ्य बिमा कार्यक्रम ल्याएको बताउँदै मेयर कोइरालाले जनतालाई दुःख दिने काम नगर्न निर्देशन दिए ।
 
सेवाग्राहीलाई सहज रुपमा उपचार सेवा दिन साथै औषधि समेत उपलब्ध गराउन अनुगमन टोलीले निर्देशन दिएको थियो ।
 
अस्पतालका डाक्टरले स्वास्थ्य बिमामा पाउने औषधिसमेत नलेखी अन्य औषधि लेख्ने गरेको गुनासोसमेत आएको महानगरले जनाएको छ । 
 
स्वास्थ्य बिमा गरेका सेवाग्राहीहरुले सहज रुपमा उपचार सेवा नपाउने गरेको, निःशुल्क पाउने औषधि समेत नपाएको जस्ता धेरै गुनासो आएपछि जनप्रतिनिधिहरुले अनुगमन गरेका हुन् ।