सांसद प्रेम सुवालले जंगिदै ठोके टेबुल, ‘गरिबलाई मार्ने काम गर्नु हुँदैन’
-आस्था न्यूज
माघ १५, २०८० काठमाडौं ।
नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवाल सोमबार सिंहदरबारमा प्रतिनिधिसभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा छलफलका क्रममा जंगिएका छन् ।
खाद्य स्वच्छता विधेयकको संशोधनकर्ताहरुसँग भएको छलफलमा उनले सरकारले औषधिको अनुगमनमा ध्यान नदिएर कालाबजारीलाई प्रश्रय दिएको आरोप लगाए । ‘नेपालको औषधिहरु गुणस्तरीय नहुँदा डाक्टरलाई सोध्यो भने नेपालको नखाएर विदेशी खानु भन्नुहुन्छ । त्यस्तो उत्पादन गर्न मिल्छ काम नै नलाग्ने ? कम्पनी कुन हो खोइ अनुगमन ? गरिबलाई मार्ने काम सरकारले गर्नुभएन । धनि मात्र बाँच्ने भए अमेरिका गएकै छन् नि,’ उनले भने ।
बोल्दाबोल्दै उनको भनाइमा व्याख्या लामो भएको भन्दै समिति सभापति आरजु राणा देउवाले छोट्याउन भनेपछि सुवाल जंगिए । खाद्य स्वच्छता विधेयकको संशोधन गर्नैपर्ने भएकाले संशोधनकर्ताले आआफ्नो भनाइ राख्नेपर्ने उनले जिकिर गरिन् । सुवालले अरुलाई केही नभन्ने तर आफ्नो पालोमा छोट्याउन भन्नु उपयुक्त नभएको तर्क गरे ।
‘तपाईहरुलाई घोचेको मन पदैन सबै थाहा छ हामीलाई । तपाईहरुलाई त सिंहदरबार कब्जा गर्न पाए पुग्छ नि । गरिब जनताको किन सुन्नुपर्छ ? प्रजातान्त्रिक समाजवाद नि थाहा छ, नाटक नै नाटक त हो । बीपि कोइरालालाई तपाईहरुले प्रतिष्ठानमा नै बेच्नुभयो नि,’ उनले कटाक्ष गरे ।
उनले ‘म बोल्दिन’ भनेर उठेपछि केही सदस्यले सम्झाएका थिए । सांसद सुवालले ६ महिनायता मुलुकमा ४ अर्ब रुपैयाँको तरकारी आयात भएको बताए । ‘विषादी भएको तरकारी सरकारले जाँच गर्नु पर्दैन ? विषादी भएको तरकारी खुवाउन मिल्छ ?,’ उनले प्रश्न गरे, ‘यही हो खाद्य स्वच्छता ? मन्त्रीज्युको ध्यानाकर्षण गराउन चाहन्छु ।’